काठमाडौँ । औद्योगिक उद्यम विकास संस्थान (आईईडिआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) अपरेसन एन्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरिएको छ।
यसअन्तर्गत आईएफएनले डिजिटल एन्ड आईटी–इनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौँ उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपलाई समर्थन गर्नेछ।
मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम ‘हाइब्रिड मोडल’ मा चलाइनेछ। कार्यक्रममा सहभागी स्टार्टअपहरूले विशेषज्ञबाट एक-एक सदस्यता, क्षमता अभिवृध्दि, व्यवसाय वृध्दि र प्रमाणीकरण समर्थन र लगानीकर्ताको लागि तयारी प्राप्त गर्नेछन्।
आयोजकका अनुसार यो इन्क्युबेसन पहलले उद्यमशीलता विकासलाई काठमाडौँ बाहिर पनि विस्तार गर्ने उद्देश्य राखेको छ। विशेषगरी ऐतिहासिक रूपमा कम अवसर पाएका क्षेत्रका उद्यमीलाई समेटेर नवप्रवर्तनको क्षेत्रीय इकोसिस्टम बलियो बनाउने लक्ष्य कार्यक्रमले राखेको छ।
कार्यक्रममार्फत छनोट भएका स्टार्टअपलाई उद्योग–विशेषज्ञसँगको प्रत्यक्ष सम्पर्क, व्यावहारिक तालिम र नेटवर्किङ अवसर उपलब्ध गराइनेछ। यसले उनीहरूलाई आफ्नो व्यवसाय ढाँचा परिष्कृत गर्न, बजारमा उपस्थिति बढाउन र लगानीका लागि तयारी गर्न मद्दत गर्ने विश्वास गरिएको छ।
यसका साथै उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले बिउ लगानी सहयाेग प्राप्त गर्नेछन् भने उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स र एआई कन्फरेन्स जस्ता राष्ट्रिय स्तरका प्लेटफर्ममा पहुँच प्रदान गरिनेछ।


प्रतिक्रिया दिनुहोस्