रास्वपाका वरिष्ठ नेता शाहको नेतृत्वमा सरकार गठन भएको एक महिना नपुग्दै २ मन्त्रीको पद गुम्यो


काठमाडौँ । वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको एक महिना नपुग्दै २ मन्त्रीले पद गुमाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता शाहको नेतृत्वमा सरकार गठन भएको २६ दिनमै दुई मन्त्रीको पद गएको हो ।

सम्पति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग जोडिएपछि आजमात्रै गृहमन्त्री पदबाट सुधन गुरुङले राजीनामा दिएका छन् ।

यसअघि विवादमा परेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह पदमुक्त भएका थिए ।

उनकी पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको बैठकमा लामो समयपछि सहभागी भएपछि विवाद भएको थियो ।

लगातार तीनभन्दा बढी बैठकमा उपस्थित नभएपछि बोर्डको सदस्य पदमुक्त हुने कानुनी व्यवस्थालाई टेकेर उनलाई पदमुक्त गरिएको थियो । तर, साह श्रममन्त्री बनेपछि उनी बोर्डमा गएपछि विवाद भएको थियो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट रास्वपाले २७५ सिट मध्ये १८२ सिट जितेको थियो ।

सरकार बनेको २६ दिनमै दुई मन्त्रीको पद गएको छ ।