काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारमा सेयर खरिद अर्डर प्लेसमेन्ट (आदेश प्रविष्ट)का सन्दर्भमा कारोबार सदस्य (सेयर ब्रोकर र स्टक डिलर)हरूका लागि दुई बुँदे निर्देशन जारी गरेको छ ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८(१) मा रहेको खरिद आदेश प्रविष्ट गर्ने सीमा कार्यान्वयन गर्न भन्दै ब्रोकरहरूका लागि कडा निर्देशन जारी गरेको हो।
विनियमावलीमा रहेको व्यवस्थाविपरीत ब्रोकरहरूले लगानीकर्ताको वास्तविक कोल्याट्रल लिमिट रकमभन्दा बढी गुणामा खरिद आदेश प्रविष्टी गर्न दिने, अस्थायी खरिद आदेश प्रविष्टी गरी माग उच्च देखाउनेलगायतका कार्य गरी बजारमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप गरेको देखिएको नेप्सेले जनाएको छ ।
त्यस्ता क्रियाकलाप गरेको देखिएमा धितोपत्रको प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि नेप्सेले दिएको छ ।
सेयरबजारमा मूल्य बढाउन ब्रोकर कम्पनीको मिलेमतोमा नभएको कोल्याट्रल देखाएर अस्वास्तविक अर्डर हाल्ने गरेको आशङ्कामा नेप्सेले निर्देशन जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्