सोपान फर्मास्युटिकल्सको आइपिओ बाँडफाँट


काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सर्वसाधारणका लागि निष्काशन गरिएको आइपिओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म कुल ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको भए पनि मागभन्दा बढी आवेदन परेको थियो ।

विक्री प्रबन्धकका अनुसार आइपिओको लागि कुल २७ लाख ६८ हजार ७४३ जनाले आवेदन दिएकोमा २७ लाख ३० हजार ९८७ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा ३ लाख ४७ हजार ४९० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीको संस्थागत संरचनामा सोपान मल्टिपलको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ भने व्यवस्थापनको नेतृत्व अध्यक्ष डा. अनिल पोखरेल र सिइओ सुमन न्यौपानेले गरिरहेका छन् ।

औषधि उत्पादन क्षेत्रमा सक्रिय यस कम्पनीले आईपीओ निष्काशनमार्फत संकलित पुँजीलाई व्यवसाय विस्तार र उत्पादन क्षमता वृद्धिमा खर्च गर्ने लक्ष्य राखेको छ ।