प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल


काठमाडाैँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताइन् ।

युवा कानून व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिइन् । काममुकायम प्रधानन्यायाधीश मल्लले एआईले प्रणालीलाई थकित हुन नदिने र कार्यक्षमता बढाउने भएपनि यसलाई मानवीय नियन्त्रण र विवेकको परिधिभित्रै राख्नुपर्ने धारणा राखिन् ।

आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै कायममुकायम प्रधानन्यायाधीशले एआईले कानूनी अनुसन्धान, नजिरहरूको खोजी र फैसला लेखनका क्रममा एउटा खाका (फ्रेमवर्क) तयार गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताइन् । उनले ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने उल्लेख गरिन् ।

प्रविधिको फाइदाका साथै यसका जोखिमहरूबारे पनि सचेत रहनुपर्ने उनको भनाइ थियो । विशेष गरी ‘डिजिटल डिभाइड’, अल्गोरिदममा हुनसक्ने पूर्वाग्रह (बायस), गोपनीयताको हक र उत्तरदायित्वका प्रश्नहरूमा गम्भीर हुनुपर्ने उनले बताइन् । युनेस्को र भारतले एआईको प्रयोगका लागि जारी गरेका मार्गदर्शनहरूको सन्दर्भ उल्लेख गर्दै उनले नेपालले पनि ‘ह्युमन सेन्ट्रिक एप्रोच’ (मानव केन्द्रित दृष्टिकोण), पारदर्शिता र जवाफदेहितालाई आत्मसात गर्नुपर्नेमा जोड दिइन् । 

उनले भनिन्, “प्रविधि न्यायको साधन हो, विकल्प होइन । न्यायको आत्मा सदैव मानवीय हुन्छ र त्यसको संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो । मैले आफैँले पनि न्यायपालिकामा एआईको प्रयोगबारे परीक्षण गरेको छु। यसले विशेष गरी अनुसन्धान र सूचना व्यवस्थापनमा क्रान्तिकारी भुमिका खेल्न सक्छ । जेन–जीको घटनापछि हामी प्राविधिक रूपमा शुन्यको अवस्थामा पुगेका थियौँ, तर अहिले हामी पुनः उठ्ने प्रयास गरिरहेका छौँ । हामीले ब्याकअपदेखि धेरै प्रणालीहरू पुनः स्थापित गर्न बाँकी छ । हामी न्यायपालिकाको क्षमता र प्रभावकारिता बढाउन सहकार्यका लागि सधैँ खुला छौँ ।”

नयाँ पुस्ताका कानून व्यवसायीहरू प्रविधिमैत्री रहेकोमा खुशी व्यक्त गर्दै उहाँले न्यायपालिकालाई प्रविधिमैत्री र नवप्रवर्तनकारी बनाउन युवाहरूको साथ आवश्यक रहेको बताइन् । छिटोछरितो न्याय र पहुँचका लागि प्रविधि एउटा कोशेढुङ्गा सावित हुन सक्ने र यसले न्यायको कथालाई नयाँ ढङ्गले परिभाषित गर्ने उनको विश्वास छ । उनले ढिलो न्याय हुने जनगुनासोलाई सम्बोधन गर्न प्रविधिले कार्यक्षमता बढाउने र यसले समग्र न्याय प्रणालीलाई नै सुदृढ बनाउने उल्लेख गरिन् ।