सरकार जनविरोधी बन्दै गयो : माधव नेपाल


काठमाडौं । माधव कुमार नेपालले वर्तमान सरकारका गतिविधि जनविरोधी बन्दै गएको आरोप लगाउँदै मजदुर वर्गलाई पुनः संगठित र सक्रिय हुन आह्वान गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक समेत रहेका नेपालले मजदुर आन्दोलनको सन्दर्भमा बोल्दै सरकार गठन भएको छोटो अवधिमै गलत संकेतहरू देखिएको टिप्पणी गरे।

उनले सुकुम्बासी समस्या समाधानमा विकल्प नदिई गरिएको हस्तक्षेप, ट्रेड युनियन अधिकारमाथि अंकुश लगाउने प्रयास र अध्यादेशमार्फत शासन गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाए। “तथ्य र विकल्पबिना सुकुम्बासी हटाउने काम न्यायोचित हुन सक्दैन,” उनले भने, “सरकारले कदम नसच्याए मजदुर वर्ग फेरि संघर्षमा उत्रिन्छ।”

मजदुर आन्दोलनको ऐतिहासिक सन्दर्भ जोड्दै उनले कार्ल मार्क्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने विचारलाई वर्तमान अवस्थामा पनि सान्दर्भिक रहेको बताए।

भूराजनीतिक सन्तुलनको विषय उठाउँदै नेपालले नेपालले असंलग्न परराष्ट्र नीतिलाई दृढतापूर्वक कायम राख्नुपर्ने धारणा व्यक्त गरे। “हामी दुई ठूला छिमेकीबीच छौँ, कुनै सैन्य गठबन्धनमा सामेल हुने वा कसैको पुच्छर बन्ने विकल्प छैन,” उनले स्पष्ट पारे।

उनले राष्ट्रिय स्वाभिमानको रक्षा र राजनीतिक सचेतनाको आवश्यकता औँल्याउँदै प्रतिकूल परिस्थितिमा पनि निराश नहुन आग्रह गरे। “हारपछि जित निश्चित हुन्छ, मजदुर वर्गले परिवर्तनको नेतृत्व गर्नुपर्छ,” उनले भने।

यसैबीच, देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षा प्रणालीलाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।