स्वयम्भूमा २५७० औं बुद्धजयन्तीको उल्लासः देशभर शान्तिको कामना गर्दै मनाइयो


काठमाडौं । शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जन्मजयन्ती आज देशभर विविध कार्यक्रम गरी श्रद्धा र भव्यतासाथ मनाइएको छ ।

काठमाडौंको ऐतिहासिक तथा धार्मिक सम्पदा स्वयम्भू महाचैत्यमा बिहानैदेखि श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको थियो । बौद्ध धर्मावलम्बीसहित विभिन्न धर्मका मानिसहरू स्वयम्भू पुगेर पूजा, प्रार्थना, दीप प्रज्वलन तथा धार्मिक अनुष्ठानमा सहभागी भए ।

भक्तजनको भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको थियो । बुद्धजयन्तीको अवसरमा स्वयम्भू क्षेत्र ध्वजापताका र बत्तीले सजाइएको थियो, जसले वातावरणलाई थप आध्यात्मिक र उल्लासमय बनाएको देखिन्थ्यो ।

हरेक वर्ष वैशाख पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा छ । यस दिन गौतम बुद्धको जीवनसँग जोडिएका तीन महत्वपूर्ण घटना सम्झिने गरिन्छ । ईसापूर्व ५६३ मा लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको, लामो तपस्यापछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेको तथा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेको विश्वास गरिन्छ ।

गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा, करुणा र चार आर्य सत्यको सन्देश आजको विश्वमा अझ सान्दर्भिक बन्दै गएको धार्मिक अगुवाहरू बताउँछन् । विश्वभर बढ्दो द्वन्द्व, हिंसा र असहिष्णुताबीच बुद्धका शिक्षाले शान्ति, सहअस्तित्व र मानवताको मार्ग देखाउने विश्वास गरिएको छ ।

काठमाडौंको बौद्ध, लुम्बिनी, नमोबुद्धलगायत विभिन्न क्षेत्रमा पनि बुद्धजयन्ती विशेष कार्यक्रमसहित मनाइएको छ । नेपाल सरकारले बुद्धजयन्तीलाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने गरेको छ ।

— न्युज एजेन्सी नेपाल