राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश


काठमाडौँ । राष्ट्रपतिले यसअघि पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अन्ततः जारी भएको छ।

रामचन्द्र पौडेलले सरकारको पुनः सिफारिसपछि उक्त अध्यादेश सोमबार फेरि पठाइएलगत्तै जारी गरेका हुन्। यसअघि भने सोही अध्यादेशमाथि प्रश्न उठाउँदै राष्ट्रपतिले फिर्ता पठाएका थिए, जसले राजनीतिक वृत्तमा बहस सिर्जना गरेको थियो।

सरकारले भने कुनै संशोधन नगरी जस्ताकोतस्तै अध्यादेश पुनः सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि दोस्रोपटक पुगेको सिफारिसलाई राष्ट्रपतिले यसपटक स्वीकृति दिएका छन्।

जारी अध्यादेशअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न कम्तीमा ४ जना सदस्य उपस्थित भए पुग्नेछ। साथै, उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ, जसले परिषद्को निर्णय प्रक्रिया थप सहज बनाउने सरकारको दाबी छ।