वित्तीय पारदर्शिताका लागि मानक र संहिताको पालनामा जोड


काठमाडौँ। नेपालको वित्तीय क्षेत्रमा पारदर्शिता र सुशासन कायम गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेखा र लेखापरीक्षण (आरओएससी एएन्डए) को समीक्षा प्रक्रिया सुरु भएको छ।
विश्व बैंक, एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारको संयुक्त पहलमा आयोजित परामर्श बैठकले नेपालको वित्तीय क्षेत्रका विद्यमान खाडलहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। काठमाडौँमा सम्पन्न बैठकमा सहभागीहरूले नेपाली वित्तीय बजारमा पारदर्शिताको नयाँ युगको सुरुवात हुने अपेक्षा गरेका छन्।
नेपालको लेखापरीक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डमा ढाल्न र लगानीकर्ताको विश्वास पुनर्जीवित गर्न यो वृहत् मूल्याङ्कन प्रक्रिया सुरु गरेकोमा सरोकारवालाहरूले स्वागत गरेका छन् ।
नेपाल सेयर बजार लगानीकर्ता संघले बैठकमा आफ्नो स्पष्ट दृष्टिकोण राख्दै कम्पनीहरूले वित्तीय विवरणमा गर्ने ‘विन्डो ड्रेसिङ’ (कृत्रिम रूपमा वित्तीय अवस्था राम्रो देखाउने कार्य) अब स्वीकार्य नहुने चेतावनी दिएको छ।
संघका महासचिव रविन कँडेलले वित्तीय विवरणमा शत-प्रतिशत सत्यता हुनुपर्ने र लगानीकर्तालाई भ्रममा पार्ने कार्य रोकिनुपर्ने माग गरे ।
विशेष गरी प्रिमियम र मूल्य निर्धारण (बुक बिल्डिङ) को नाममा भइरहेका चलखेलहरूलाई नियन्त्रण गर्न नियामक निकायहरू नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अझ बढी सक्रिय हुनुपर्ने धारणा लगानीकर्ताहरूको छ। साना लगानीकर्ताको सुरक्षाका लागि प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रियाको सुशासनमा कडाइ गर्नुपर्ने उनीहरूको माग छ।
छलफलका क्रममा लेखापरीक्षकहरूको भूमिका र जवाफदेहिताको विषय जोडदार रूपमा उठाइएको कँडेलले बताए । लेखापरीक्षकहरू केवल कम्पनीका कर्मचारी नभई ‘जनमतका संरक्षक’ हुनुपर्ने भन्दै गलत रिपोर्ट प्रमाणित गर्ने अडिटरलाई कडा कानुनी र आर्थिक दण्डको व्यवस्था गर्न प्रस्ताव गरिएको नेपाल सेयर बजार लगानीकर्ता संघले जनाएको छ ।