लोकतन्त्र सुदृढीकरणका लागि स्वतन्त्र र मर्यादित पत्रकारिता आवश्यक : सञ्चारमन्त्री डा तिमिल्सिना


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस २०८३ तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकारले प्रेसमाथि कुनै पनि प्रकारको अंकुश लगाउने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएर आउने बताउँदै तथ्य र सत्यमा आधारित पत्रकारिताले मात्रै समाजलाई सही दिशानिर्देश गर्न सक्ने धारणा राखे ।

मन्त्री तिमिल्सिनाले डिजिटल युगमा प्रविधिमैत्री र जिम्मेवार पत्रकारिता सुशासनको आधार भएको उल्लेख गर्दै यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा `सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार´ ले आधुनिक पत्रकारितालाई दिशानिर्देश गरेको बताए ।

विश्वव्यापी सूचना प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रमा अवसरसँगै चुनौती पनि थपिएको उल्लेख गर्दै उनले छापा माध्यमदेखि अनलाइन सञ्चारमाध्यमसम्मको व्यावसायिकता र दिगोपन सरकारको प्राथमिकतामा रहेको बताए । सञ्चारमाध्यमको हितमा नीतिगत व्यवस्था गर्न मन्त्रालयले विज्ञापन नीति २०८३ तर्जुमा गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

सामाजिक सञ्जालको दुरुपयोग र ‘फेक न्यूज’ का कारण समाजमा भ्रम र विभाजन फैलिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले तथ्य जाँचलाई पत्रकारिताको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै पत्रकारको न्यूनतम पारिश्रमिक, पेशागत सुरक्षा र वृत्ति विकासका लागि थप प्रभावकारी कदम चालिने जानकारी दिए ।

पत्रकारिता केवल सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक भएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले विकास, सुशासन र सामाजिक रूपान्तरणका मुद्दा जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताए। आलोचना तथ्यमा आधारित, वस्तुपरक र रचनात्मक हुनुपर्ने उनको भनाइ थियो ।

उनले सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माणको तयारी गरिरहेको जानकारी दिँदै पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र आधुनिक बनाउने तथा पत्रकारको हित प्रवर्द्धन गर्ने लक्ष्य लिइएको बताए । विसं. १९५८ वैशाख २४ गते ‘गोरखापत्र’ प्रकाशन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा राष्ट्रिय पत्रकारिता दिवस मनाइदै आएको छ ।