मन्त्रिपरिषद्ले हटायो विदेशस्थित १५ अवैतनिक दूत


काठमाडौँ । सरकारले विदेशमा कार्यरत १५ जना अवैतनिक दूत तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विभिन्न देशमा रहेका अनररी कन्सुलर जनरल र कन्सुलरलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले विदेशस्थित १५ जना अवैतनिक कूटनीतिक प्रतिनिधिको जिम्मेवारी अन्त्य गर्ने निर्णय गरेको बताए। यद्यपि पदमुक्त गरिएका व्यक्तिहरूको नाम र कार्यरत देश सार्वजनिक गरिएको छैन।

यससँगै मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम संगठनका बाध्यकारी श्रमसम्बन्धी महासन्धि–१९३० को २०१४ प्रोटोकल नम्बर २९ तथा श्रम निरीक्षणसम्बन्धी १९४७ को महासन्धि नम्बर ८१ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।