डोल्पाको जगदुल्लामा आइसिटी र एआई शिक्षाबारे तालिम


काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिकामा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) र एआई सम्बन्धी पाँच दिने शैक्षिक क्षमता तथा नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामीण तथा हिमाली क्षेत्रका विद्यालयमा प्रविधिमैत्री शिक्षण–सिकाइ विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

तालिममा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म अध्यापन गर्ने शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक सङघका प्रतिनिधि, अभिभावक र विद्यालय प्रशासनका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

विद्यार्थी वृत्ति परामर्श, अभिभावक शिक्षा र विद्यालय व्यवस्थापनसम्बन्धी विषयमा समेत सहजीकरण गरिएको आयोजकले जनाएको छ ।

गाउँपालिकाभित्रका ७ ओटा विद्यालयका ७० भन्दा बढी शिक्षक कार्यक्रममा सहभागी भएका थिए भने सरोकारवाला निकाय तथा समुदायका अगुवासहित ५५ भन्दा बढी व्यक्तिको उपस्थिति रहेको थियो ।

तालिममा आइसिटी तथा एआईको शैक्षिक प्रयोग, गुगल फर एजुकेसनका टुलहरू, वर्ड, स्प्रिडसिट र प्रस्तुतिकरण निर्माण, साइबर सुरक्षा, क्युआर कोड विकास, पाठ्यक्रममा आधारित सिकाइ सामग्री निर्माणलगायत विषयमा व्यावहारिक प्रशिक्षण दिइएको थियो र साथै भर्चुअल कक्षा भिडियोहरूको प्रयोग, संज्ञानात्मक तहअनुसार प्रश्न निर्माण र गतिविधिमूलक शिक्षण विधिबारे पनि प्रशिक्षण गराइएको पालिकाले जनाएको छ ।

सहभागी शिक्षकहरूले प्रविधिको प्रयोगमार्फत ग्रामीण शिक्षामा गुणस्तरीय परिवर्तन सम्भव रहेको धारणा व्यक्त गरेका छन् ।

गाउँपालिकाले विद्यालयहरूमा डिजिटल पहुँच विस्तार गर्दै एआई सिकाईको अवधारणालाई क्रमशः कक्षाकोठासम्म पुर्‍याउने लक्ष्य लिएको जानकारी आयोजकले जनाएको छ ।

गाउँपालिका प्रशासनका अनुसार दुई माध्यमिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भइसकेको छ भने अन्य विद्यालयमा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको छ ।

सरोकारवालाहरूले दीर्घकालीन प्रभावका लागि भरपर्दो इन्टरनेट सेवा, पर्याप्त ब्यान्डविथ, स्थिर कनेक्टिभिटी तथा निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्न स्थानीय तहले विशेष पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

दुर्गम हिमाली जिल्ला डोल्पामा आइसिटी एआई जस्ता आधुनिक विषयमा सञ्चालन गरिने यस्ता कार्यक्रमहरूले ग्रामीण शिक्षामा डिजिटल रूपान्तरणको सम्भावना बढाउँदै नयाँ बहस र अवसर सिर्जना गरेको स्थानीय शिक्षाकर्मीहरूको विश्वास छ ।