सिन्धुलीबाट पक्राउ परे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको छ ।

उनलाई २०८३ वैशाख २९ गते राति करिब ८ बजे सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोलीको सहयोगमा कमलामाई नगरपालिका–६ बसपार्कस्थित मदन भण्डारी राजमार्गमा सवारी जाँचका क्रममा पक्राउ गरिएको जनाइएको छ ।

सिआईबीका अनुसार अनुसन्धान सुरु भएपछि उनले प्रयोग गर्दै आएको मोबाइल फोन स्विच अफ गरेका थिए र काठमाडौँबाट बाहिरिने प्रयासमा थिए।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको सिआईबीले जनाएको छ।

स्मार्ट टेलिकम लिलामी प्रकरणमा पाण्डे माथि अनुसन्धान सुरु भएको छ ।

स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमति पत्र लिएर सेवा सञ्चालन गरेको थियो। तर नियमानुसार अनुमति पत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार २०८० वैशाख ३ गतेदेखि अनुमति पत्र स्वतः रद्द भएको थियो।

त्यसपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना र दूरसञ्चार सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो।

यसै सम्पत्ति लिलामी प्रक्रियामा सरकारी सम्पत्ति बेइमानीपूर्वक हक टुटाउने उद्देश्यले काम भएको आरोपमा अनुसन्धान अघि बढाइएको हो। पाण्डे लोन रिकभरी कमिटी अध्यक्षसमेतको हैसियतमा उक्त लिलामी प्रक्रियामा प्रत्यक्ष संलग्न थिए।

घटनामा अर्को आर्थिक अनियमितताको आरोप पनि जोडिएको छ। बैंकले २०८२ असोज ३ गते स्मार्ट टेलिकमको सम्पत्ति लिलामी सूचना निकाल्दा, जडान भएका घरजग्गाका धनीलाई स्मार्ट सेलले तिर्न बाँकी घर भाडा र विद्युत् महसुलसमेत गरी ४० करोड रूपैयाँ थप रकम बोलपत्रदाताबाट एकमुष्ट कबुल गराउनुपर्ने सर्त राखेको थियो।

प्रहरीका अनुसार बैंकले उक्त रकम उठाए पनि हालसम्म सम्बन्धित घरधनीलाई घर भाडा तथा विद्युत् महसुल भुक्तानी गरेको छैन।

अनुसन्धानमा यो प्रकरणलाई केवल बैंकिङ्ग लेनदेन नभई सरकारी नियन्त्रणमा गएको दूरसञ्चार सम्पत्ति निजी स्वार्थमा प्रयोग गरिएको घटनाका रूपमा हेरिएको छ। लिलामी प्रक्रियामा संलग्न अन्य व्यक्ति, रकम संकलनको प्रयोग र सम्पत्ति हस्तान्तरणका कागजात पनि प्रहरीले अध्ययन गरिरहेको जनाएको छ।