मुक्तिनाथ विकास बैंकका सिइओ मानन्धरले सम्हाले जिम्मेवारी,वाणिज्य बैंकमा रूपान्तरण गर्ने चुनाैती


काठमाडौँ । मुक्तिनाथ विकास बैँकका नवनियुक्त सिइओ तारा मानन्धरले आजदेखि जिम्मेवारी सम्हालेका छन् ।

अघिल्लाे सिइओ प्रद्युमन पोखरेलकाे कार्यकाल सकिएपछि बोर्ड बैठकले मानन्धरलाई सिइओमा नियुक्त गरेको थियो ।

झण्डै २५ वर्ष बैंकिङ क्षेत्रमा विताएका मानन्धरले प्रस्तावित वाणिज्य बैंकको नेतृत्व सम्हालेका हुन् । उनले यसअघि मुक्तिनाथमै झण्डै ९ महिना नायब प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । डिस होमको सिइओका रूपमा झण्डै २ वर्ष विताएका मानन्धरले आजदेखि मुक्तिनाथ विकास बैंकको नेतृत्व सम्हालेका हुन् ।

मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकमा स्तरोन्नतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिइसकेको छ । बोर्ड सञ्चालकका अनुसार मानन्धरसँग वाणिज्य बैंकमा काम गरेको अनुभव छ ।

मुक्तिनाथ विकास बैंकमा सिइओ बन्नका लागि पनि उनलाई वाणिज्य बैंकको नेतृत्व तहमा बसेर काम गरेको अनुभवले काम गरेको थियो ।

उनले साविकको एनसिसी बैंक,सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव नै मुक्तिनाथ विकास बैंकका लागि सिइओ छनौट हुने अवसर बनेको थियो ।

एक सञ्चालकले भने,“उहाँसँग वाणिज्य बैंकको अनुभव पनि छ । हामीले पनि वाणिज्य बैंक बन्नका लागि निवेदन दिएका छौँ । वाणिज्य बैंकको अनुभव र मुक्तिनाथकै पूर्व डिसिइओ भएकाले पनि छनौट गरिएको हो ।”

मुक्तिनाथ विकास बैंकमा हुँदा कर्पोरेट रिलेसन राम्रो भएको आधारमा पनि मानन्धर मुक्तिनाथ विकास बैँकको सञ्चालक समितिको छनौटमा परेका थिए ।