काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको विधान र नियमावलीमा फरकफरक व्यवस्था हुँदा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको विषयलाई लिएर दुईसमूह फेरि आमनेसामने भएका छन् ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छनौटका लागि जेठ ८ गतेको मिति तोकिएको छ । मिति तय भए पनि विधान र नियमावलीमा फरकफरक व्यवस्था भएपछि निर्वाचनमा सक्रिय दुई समूहले आफूअनुकुल व्याख्या गरेका छन् ।
चयन प्रक्रियामा अन्योल
महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नयाँ कार्यसमितिबाट चयन हुने वैधानिक प्रावधान छ ।
यसका लागि २०८३ जेठ ८ गतेको समय तोकिएको छ । दुई पदाधिकारीको चयन प्रक्रियामा पनि अञ्जन श्रेष्ठ र हेमराज ढकाल समूह सक्रिय छन् ।
महासङ्घको विधानको दफा २९.५ मा ‘महासङ्घमा एकजना वरिष्ठ उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष कुनै पनि सदस्य समूहमध्येबाट कम्तीमा तीन कार्यकाल सदस्य भइसकेको वहालवाला कार्यकारिणी समिति सदस्य वा एक कार्यकाल पदाधिकारी भैसकेको मध्येबाट कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ’ भन्ने उल्लेख छ ।
यस्तै दफा २९.८ ‘महासङ्घमा रहने एकजना कोषाध्यक्ष सम्पूर्ण कार्यकारिणी समिति मध्येबाट चयन हुने छ र कम्तिमा दुई कार्यकाल सदस्य भइसकेको वाहालवाला सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्ने छ’ भन्ने उल्लेख छ ।
विधानको दफा २९.५ मा वरिष्ठको हकमा ‘कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ’ भनिएको र दफा २९ मा कोषाध्यक्ष ‘सम्पूर्ण कार्यकारिणी समिति मध्येबाट चयन हुनेछ’ भनिएको छ ।
कोषाध्यक्ष चयनमा ‘सम्पूर्ण कार्यकारिणी समिति’ तर वरिष्ठ उपाध्यक्षको हकमा ‘कार्यकारिणी समिति’ मात्रै भनिएपछि विवाद भएको हो । यो विषयमा वरिष्ठ उपाध्यक्षको हकमा निर्वाचित सदस्यले मात्रै मतदान गर्न पाउने र कोषाध्यक्षको हकमा मनोनित केन्द्रीय कार्यकारिणी समिति सदस्यले समेत मतदान गर्न पाउने एउटा पक्षको तर्क छ ।
अध्यक्ष श्रेष्ठले भने विधानको विषयलाई नियमावलीमा थप व्याख्या गरेर मनोनित हुने सातजना सदस्यले समेत वरिष्ठ र कोषध्यक्ष दुबैलाई मत पाउनुपर्ने पक्षमा छन् ।
नियमावलीको व्याख्या कि संसोध ?
अध्यक्ष श्रेष्ठले पहिलो कार्यकारिणी समिति बैठकबाट नियमावली संसोधन सुझाव समिति गठन गरेका छन् । उपाध्यक्ष कृष्णप्रसाद शर्माको संयोजकत्वमा श्रेष्ठले पाँच सदस्यीय नियमावली संसोधन सुझाव समिति गठन गरेका हुन् ।
सुझाव समिति गठन गरेलगत्तै जेठ ८ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।
बैठकको कार्यसूचीमा मनोनित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहणसँगै ‘नेपाल उद्योग वाणिज्य महासङ्घको नियमावली २०८२ मा संसोधन सम्बन्धमा’ र ‘महासङ्घको विधान एव नियमावलीको व्याख्या सम्बन्धमा’ भनेर उल्लेख छ ।
महासङ्घको नियमावली तत्काली अध्यक्ष चन्द्र ढकालले साधारण सभाबाटै पारित गराएका थिए । साधारण सभाबाट पारित नियमावली केन्द्रीय कार्यकारिणी समितिबाट संसोधन गर्न नमिल्ने हमेराज ढकाल समूहको तर्क छ ।
अञ्जन समूहले भने संसोधन नभएर व्याख्या मात्रै भनेको छ ।
वरिष्ठ उपाध्यक्षको उम्मेदवारका आकाङ्क्षीसमेत रहेका निवर्तमान उपाध्यक्ष सुरकृष्ण वैैद्यले भने,“ यो नियमावली संसोधन होइन, व्याख्या गर्न खोजिएको हो । केन्द्रीय सदस्य भइसकेपछि कोहीले मताधिकार पाउने कोहीले नपाउने भन्ने हुँदैन । यसमा मिलाउन खोजिएको मात्रै हो ।” कार्यसूचीमा भने नियमावली संसोधन भनिएको छ ।
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको समयबारे अन्योल
महासङ्घमा वरिष्ठ उपाध्यक्ष चयनपछि मात्रै केन्द्रीय कार्यकारिणी समिति सदस्यको मनोनयन र कोषाध्यक्षको चयन गर्नुपर्ने हेमराज ढकाल पक्षको व्याख्या छ ।
सार्वजनिक भएको कार्यसूची हेर्दा भने श्रेष्ठले सुरुमै सदस्यहरू मनोनयन गर्ने र वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको एकैपटक निर्वाचन गर्न खोजिएको देखिन्छ ।
वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले भने,“ भियतनाममा भएको बैठकमा वरिष्ठ उपाध्यक्षको निर्वाचन गरेर सदस्यहरू मनोनित गर्ने र कोषाध्यक्ष चयन गर्ने सहमति भएको हो । अध्यक्ष ज्यूले गर्न खोजेको विषयमा मेरो पनि असहमति छ ।”
पूर्वउपाध्यक्ष किशोर प्रधानले नयाँ कार्यसमितिले सुरुमै ‘प्रक्रियागत त्रुटी’ नगर्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने,“ महासङ्घलाई नयाँ चरणमा लैजानुपर्ने छ । सुरुमै फ्रक्रियागत त्रुटी गरेर जाँदा भविष्यमा समस्या आउन सक्न । अध्यक्ष ज्यू सचेत रहनुपर्छ ।”
महासङ्घका निवर्तमान तथा पूर्व अधिकारीले भने नियमावली केन्द्रीय कार्यकारिणी समितिबाट संसोधन गराए कानुनी जटिलटता आउन आशङका व्यक्त गर्छन् ।
एक निवर्तमान पदाधिकारीले भने,“ नियमावली केन्द्रीय कार्यकारिणी समिति बैठकले संसोधन गर्न सक्थ्यो तर तत्कालीन अध्यक्ष चन्द्र ढकालले नियमावली समेत साधारण सभाबाट पारित गराउनुभएको थियो । त्यसैले नियमाली संसोधन पनि अब साधारण सभाको विषय हो । अब अर्को साधारण सभाले मात्रै संसोधन गर्न सक्छ । अध्यक्ष ज्यूले भने अहिले संसोधन गर्न हतारिनु भयो भने कानुनी समस्या आउनसक्छ ।”
२०८३ वैशाख २१ र २२ गते काठमाडौँमा भएको महासङ्घको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको थियो । निर्वाचनमा हेमराज ढकाल समूह र अञ्जन श्रेष्ठ समूहले प्यानल बनाएर चुनाव लडेका थिए ।
अब नयाँ केन्द्रीय कार्यकारिणी समितिबाट वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नुपर्ने छ । तत्काली वरिष्ठ उपाध्यक्ष श्रेष्ठ विधानअनुसार स्वत : अध्यक्ष भएका हुन् । केन्द्रीय कार्यकारिणी समितिमा पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि दुई समूहले आआफ्नो उम्मेदवार उठाउने तयारी गरेका छन् ।
अध्यक्ष श्रेष्ठ नियमावली संसोधनको तयारीमा लाग्दा अर्को समूहले भने विरोध गरेको छ । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष अझै चयन नभएकाले साधारण सभा सकिए पनि निर्वाचनको प्रक्रिया अझै नसकिएको असन्तुष्ट पक्षको दाबी छ ।
अञ्जन समूह भने अब सबै प्रक्रिया नयाँ कार्यसमितिभित्र आएको तर्क गर्छ । वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनपछि मात्रै नियमावली संसोधनको प्रक्रिया सुरु हुनसक्ने र यो पनि साधारण सभामा लैजानुपर्ने अर्को पक्षको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्