हिमालयन बैंकको सञ्चालक समिति र सिइओलाई राष्ट्र बैंकले गर्‍याे कारबाही


काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा हिमालयन बैंकलाई कारबाही गरेको छ ।

हिमालयन बैंकको जोखिममा आधारित स्थलगत निरीक्षणको क्रममा बैंकले सिमित ऋणीहरूलाई निर्धारित प्रिमियमदरमा पछिल्लो मिति (ब्याक डेट) बाट लागू हुने गरी छुट प्रदान गरेको र सो छुट रकम बक्यौता व्याज र साँवा रकम भुक्तानी गर्नमा प्रयोग गरेको, बैंकले तोकिएको समयसीमापश्चात बुझाउनुपर्ने व्याजको १० प्रतिशत रकम प्राप्त गरी कर्जा पुनरतालिकिकरण पुनरसंरचना गरेको जनाएको छ ।

यस्तै, पुनरतालिकिकरण पुनरसंरचना गरेको कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनरतालिकिकरण पुनरसंरचना गरेको कर्जामा वर्गीकरण गरी सो बाहेकको साँवा रकमलाई असल कर्जामा वर्गीकरण गरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंकले केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, अस्थायी रूपमा लामो समयसम्म ऋणीहरूको भुक्तानी अवधि बढाइएको, ९० दिनभन्दा बढी बक्यौता रहेका फोर्स लोनलाई खराब कर्जा अन्तर्गत वर्गीकरण नगरेको र यस्तो कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेकोले् कारबाही गरेको जनाएको छ ।

राष्ट्र बैंकबाट बैंक संस्थाहरूलाई जारी एकीकृत निर्देशन २०८१ मा रहेको व्यवस्थाहरू उल्लंघन भएको देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा २ (क) बमोजिम हिमालयन बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन २०७३ सहित) को दफा १०० को उपदफा १ (ख) बमोजिम यस बैंकबाट जारी निर्देशनहरुको उल्लंघन गरेबापत हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्नका लागि कबुलियतनामा गराइएको छ।