सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख: सांसद गुरु बराल


काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरिरहेको टिप्पणी गरे ।

सांसद बरालले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तथा पदासीन व्यक्तिहरूका गतिविधिले देशमा अधिनायकवादी प्रवृत्ति हाबी हुन खोजेको संकेत गरेको दाबी गरे ।

उनले भने, “संसारका धेरै राष्ट्र प्रमुख र सरकार प्रमुखहरूले यस्तै गतिविधिमार्फत लोकतन्त्रमाथि अधिनायकवाद हाबी गराउने प्रवृत्ति देखिएको छ, वर्तमान सरकारको शैली पनि त्यस्तै छ ।”

सुकुम्बासी व्यवस्थापनसम्बन्धी सरकारको पछिल्लो निर्णयप्रति पनि उनले कडा असन्तुष्टि व्यक्त गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई स्थायी आवासको व्यवस्था गर्नुको साटो हटाउने तयारी गरिएको बताए । उनले सरकारको निर्णय अव्यवहारिक र अमानवीय भएको आरोप समेत लगाए ।

उनले सरकारले प्रति सदस्य १०० रुपैयाँका दरले बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खर्च दिने निर्णय गरेको उल्लेख गर्दै वर्तमान महँगीमा उक्त रकमले दिनभरको गुजारा असम्भव भएको बताए ।

उनले भने,

“आजको महँगीमा १०० रुपैयाँले दिनभरिको खाना र खाजा कतै सम्भव छ भने सरकारले देखाइदेओस् । सरकारले सुकुम्बासीको पेटमा लात हान्ने काम गरेको छ ।”

सरकारले अस्थायी बसोवासका लागि एकमुष्ट २५ हजार रुपैयाँ तथा जेठदेखि साउनसम्म तीन महिनाका लागि प्रति परिवार १५ हजार रुपैयाँ गुजारा भत्ता दिने निर्णय गरेकोप्रति पनि उनले असन्तुष्टि जनाए । भदौदेखि वर्षायाम सुरु हुने समयमा सुकुम्बासी कहाँ जाने भन्ने प्रश्न उठाउँदै उहाँले सरकारको कदमलाई “बेशर्मीपूर्ण” संज्ञा दिए ।

सांसद बरालले होल्डिङ सेन्टरमा रहेका सुत्केरी, बालबालिका तथा वृद्धवृद्धाको अवस्था गम्भीर रहेको उल्लेख गर्दै सरकारको निर्णयले उनीहरूको शिक्षा, रोजगारी र आवासको संवैधानिक अधिकारमाथि समेत असर परेको बताए ।

उनले सुकुम्बासीहरूलाई आफ्नो अधिकारको पक्षमा एकजुट हुन आग्रह गर्दै नेकपा एमालेले सरकारको उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाएको जानकारी दिए ।