बाजुरा र हुम्ला जिल्लाबिचको सीमा विवादबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन


काठमाडौँ । बाजुरा र हुम्ला जिल्लाबिचको सीमा विवादबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले समिति गठन गरेको छ ।

सरकारले सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन गरेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् ।

त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

दुई जिल्लाबिच सीमा विवाद हुँदा झडप र प्रर्दशन हुँदै आएको छ ।