काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले नेपालको पूँजी बजारलाई आधुनिक, पारदर्शी, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन विस्तृत नीतिगत सुझाव सरकारसमक्ष पेश गरेको छ ।
संघले आफ्ना सदस्य संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूबाट प्राप्त सुझाव संकलन गरी सम्माननीय अर्थमन्त्रीसमक्ष पेश गरेको जनाएको छ ।
संघले नेप्से आधुनिकीकरण, उन्नत बजार उपकरणको सुरुवात, गैरआवासीय नेपाली ९एनआरएन० लाई दोस्रो बजारमा सहज रूपमा खाता खोल्ने व्यवस्था तथा बैंक तथा वित्तीय संस्थालाई पूँजी बजारमा सहज प्रवेश–बहिर्गमनको वातावरण बनाउनुपर्ने सुझाव दिएको छ ।
त्यस्तै पूँजी बजारलाई पूर्ण रूपमा अनलाइन रिपोर्टिङ प्रणालीमा लैजान, अनलाइन अक्सन प्रणाली सञ्चालन गर्न तथा स्वचालित सेटलमेन्ट सुविधासहित सीडीएससी प्रणाली स्तरोन्नति गर्नुपर्ने प्रस्ताव पनि संघले अघि सारेको छ ।
संघले पूँजी बजार क्षेत्रमा काम गर्ने कर्मचारी, रजिष्ट्रार, लगानी सल्लाहकार तथा विश्लेषकहरूका लागि औपचारिक प्रमाणीकरण र इजाजत परीक्षा प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
सूचना पारदर्शिता र “अर्निङ्स कल” तथा “एनालिस्ट मिट” जस्ता अभ्यासलाई संस्थागत गर्न कम्पनीहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने कडा व्यवस्था गर्नुपर्ने सुझाव पनि संघले दिएको छ ।
कर तथा वित्तीय नीतितर्फ पूँजीगत लाभकरलाई अन्तिम करको रूपमा व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
आईपीओ तथा सार्वजनिक निष्काशन सुधारअन्तर्गत इक्विटी क्राउडफन्डिङलाई वैधानिकता दिनुपर्ने, न्यूनतम १० प्रतिशत सेयर निष्काशनसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ ।
म्युचुअल फण्ड क्षेत्रमा खुलामुखी योजनाका इकाईधनीलाई कर छुट दिनुपर्ने, “सिड क्यापिटल” सम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने तथा म्युचुअल फण्डलाई आफ्नो पोर्टफोलियोको २५ प्रतिशतसम्म वैदेशिक बजारमा लगानी गर्न अनुमति दिनुपर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, प्राइभेट इक्विटी फण्डलाई म्युचुअल फण्डसरह कर छुट सुविधा उपलब्ध गराउन तथा आयकर ऐनअन्तर्गत समावेश गर्नुपर्ने सुझाव पनि संघले दिएको छ ।
संघले पूर्वअर्थमन्त्री रामेश्वर प्रसाद खनाल समक्ष पेश गरिएको “क्यापिटल मार्केट रिफर्म प्लान” पुनरावलोकन गरी कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्ना सुझाव कार्यान्वयन भए नेपालको पूँजी बजार अन्तर्राष्ट्रिय अभ्यासअनुकूल, विश्वसनीय र थप व्यवस्थित बन्ने विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्