वित्तीय पहुँच बढेसँर्गै बैकिङ्ग कारोबार गर्ने जनसङ्ख्या पनि बढ्यो


काठमाडौँ । वित्तीय पहुँचमा वृद्धि हुँदै गएसँगै बैकिङ्ग कारोबार गर्ने जनसङ्ख्या बढेको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ मा २०८२ फागुनमा बैङ्क तथा वित्तीय संस्थाहरूमा निक्षेप खाता ६ करोड २० लाख ६० हजार र कर्जा खाता २० लाख ४० हजार पुगेको उल्लेख गरिएको छ ।

गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा चालु आर्थिक वर्षमा ३६ लाख ६० हजार निक्षेप खाता र १ लाख ३ हजार कर्जा खाता थप भएका छन् ।

मोबाइल बैकिङ्ग सेवा प्रयोगकर्ता २ करोड ९४ लाख ६४ हजार र इन्टरनेट बैकिङ्ग सेवाका प्रयोगकर्ता २३ लाख ७४ हजार रहेको छ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास र विद्युतीय उपकरणमा सर्वसाधारणको पहुँच लगायतका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको उल्लेख गरिएको छ।

२०८२ फागुनमा बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या (लघुवित्तसमेत) का आधारमा प्रति शाखा जनसङ्ख्या औसत २ हजार ५४४ पुगेको छ। यस्तो औसत २०८२ असारमा २ हजार ५३० र २०८१ असारमा २ हजार ५२९ रहेको थियो।