काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले विश्व अर्थतन्त्रमा अनिश्चितता र क्षेत्रीय द्वन्द्व कायम रहे पनि नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको बताए।
आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।
प्रदेशगत रूपमा वागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने उल्लेख गरिएको छ ।
सर्वेक्षणअनुसार वागमती प्रदेशले मात्रै कुल गार्हस्थ्य उत्पादनमा ३६।७ प्रतिशत योगदान पु¥याएको छ । यद्यपि प्रमुख खाद्यान्न बाली धानको उत्पादन भने ४।२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको उल्लेख छ ।
राजस्व बढ्यो, पुँजीगत खर्च कमजोर
अर्थमन्त्री वाग्लेले फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको जानकारी दिएका छन् । सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको सर्वेक्षणमा उल्लेख छ ।
सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३।६ प्रतिशत बराबर हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।
रेमिट्यान्स र विदेशी मुद्रा सञ्चिति उच्च
सर्वेक्षणअनुसार नेपालको बाह्य क्षेत्र भने मजबुत देखिएको छ । रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने सरकारको दाबी छ । तर व्यापार घाटा भने ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
आर्थिक सर्वेक्षणले डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखाएको छ । फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको उल्लेख छ ।
त्यस्तै नेपालले सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा ‘द्यद्य(’ स्टेबल आउटलुक प्राप्त गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ । मुद्रास्फीति औसत २।१३ प्रतिशतमा सीमित रहेको सरकारको दाबी छ ।
मानव विकास सूचकांक ०.६२२ पुगेको छ भने नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको सर्वेक्षणमा उल्लेख छ । स्वास्थ्यतर्फ मातृ मृत्युदर प्रति लाख १५१ र पाँच वर्षमुनिको बाल मृत्युदर प्रति हजार ३३ मा झरेको छ ।
शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको तथा स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको सहभागिता बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्