प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपा र सभामुखको मौनताले शंका उत्पन्न गराएको छः एमाले सांसद देवकोटा


काठमाडौँ । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सभामुखको मौनताले शंका उत्पन्न गराएको बताए ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले प्रधानमन्त्रीको राष्ट्रहित विपरीत र गैरजिम्मेवार अभिव्यक्तिमा पनि सभामुख डोलप्रसाद अर्यालले कुनै रुलिङ नगर्नु र रास्वपा मौन बस्नुले सबै पक्षलाई सशंकित बनाएको बताए ।

उनले हालसम्म भारतका कुनैपनि आधिकारिक निकायबाट नेपालले सीमा मिचेको भन्ने जानकारी नेपाललाई नदिएको अवस्थामा प्रधानमन्त्रीले अचानक त्यस्तो आशयको जवाफ दिनु गम्भीर विषय भएको बताउँदै उनले नेपालभारत बीचको सीमा विवाद सुगौली सन्धीदेखि नै रहँदै आएपनि भारतले हालसम्म नेपालले भूमी मिचेको दाबी नगरेको उल्लेख गरे ।

वर्तमान सरकारले गठन भएदेखि नै विवादास्पद र अमान्य गतिविधिहरू गरिरहेको उनको आरोप छ । पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी, सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापनबिना उठीबास लगाउने कार्य तथा सीमासम्बन्धी अभिव्यक्तिले सरकारको सही ढंगले नचलेको प्रष्ट हुने उनको भनाई छ ।

सांसद देवकोटाले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति स्मरण गराउँदै मेयर हुँदा ग्रेटर नेपालको नक्सा जारी गर्नेकुरा गर्ने व्यक्ति आज नेपाललाई ‘स्मल नेपाल’ बनाउने अभिव्यक्ति दिन किन पुगे ? भनेर प्रश्न उठाए ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वापका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु पनि शंकास्पद रहेको उल्लेख गर्नुभयो । यसमा कुनै प्रकारको तालमेल रहेको हो कि भन्ने प्रश्न उठेको उनले भनाई छ ।

सांसद देवकोटाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र राष्ट्रहितविरुद्ध भएको दाबी गर्दै यस्तो व्यक्तिले प्रधानमन्त्री पदमा बसिरहनु उपयुक्त नहुने बताए । उनले पदको दुरुपयोग नगरी तत्काल राजीनामा दिएर आम नेपाली जनतासँग माफी माग्न प्रधानमन्त्रीलाई आग्रह गरे ।