जनकपुरधाम । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले आज मधेश प्रदेशका नयाँ अर्थमन्त्री युवराज भट्टराईसँग भेटवार्ता गरेको छ । व्यापारिक समुदायसँग संवाद गर्ने मन्त्री भट्टराईकै पहलमा यो बैठक भएको जनाइएको छ ।
अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधिमण्डलले अटोमोटिभ क्षेत्रलाई प्रादेशिक संरचनाको अभिन्न अंगको रूपमा प्रस्तुत गरेको छ । यो क्षेत्रले कुल सरकारी राजस्वमा २० प्रतिशतभन्दा बढी योगदान दिएको र देशभर एक लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ ।
छलफलमा नाडाले मधेश प्रदेशका अर्थमन्त्रीसँग तीन प्राथमिकता अगाडि सारेको छ । नाडाले दर्ता शुल्क र मूल्य अभिवृद्धि कर संरचनामा बहु–वर्षीय स्पष्टता, माध्यमिक शहरमा डीलरशिपलाई विद्युतीय सवारी चार्जिङ केन्द्रको रूपमा विकास गर्न संयुक्त कार्यदल गठन र विद्युतीय सवारी संक्रमणका लागि सेवा प्राविधिक पुनः तालिममा प्रादेशिक समर्थन हुनुपर्ने बताएको छ ।
उक्त छलफलमा “हामी कर छुट माग गरिरहेका छैनौँ — हामी स्पष्टता माग गर्दैछौँ,” अध्यक्ष उप्रेतीले भने, “दुई वर्षको लागत संरचना जानेको डीलरले ग्रामीण सेवा केन्द्रमा लगानी गर्न र प्राविधिक नियुक्त गर्न सक्छ । तर अर्को महिनाको कर दायित्वमा अन्योल भएको डीलरले वृद्धिमा प्रतिबद्धता गर्न सक्दैन ।ू
सोहि सिलसिलामा नाडाले अर्थ मन्त्रालयसँग नियमित संवादको माध्यम स्थापना गर्न प्रस्ताव राखेको छ ।
सो छलफलको अन्त्यमा अर्थमन्त्री भट्टराईले मधेश प्रदेशमा लगानीको वातावरण सुदृढ गर्न र निजी क्षेत्रको लगानी बढाउन नाडा प्रतिनिधिमण्डलसंग आग्रह गर्दै प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्