देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाएको बताएका छन् । 

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अविनाश विक्रम शाहको लघु चलचित्र लोरीले कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको सन्दर्भलाई जोड्दै नेपाली कला र कलाकारले विश्वस्तरमा देशको गरिमा बढाएको उल्लेख गरे ।

मन्त्री पौडेलले नेपाललाई चिनाउन सगरमाथा र गौतम बुद्धको नाम मात्र पर्याप्त नभएको भन्दै अब नेपाली कला र सिर्जनाका माध्यमबाट पनि विश्वमा चिनिनुपर्नेमा जोड दिए । उनले लोरीको सफलताको चर्चा नेपालमा भन्दा बढी भारतमा भएको आफूले पाएको उल्लेख गर्दै यस्ता उपलब्धिले देशलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।

अन्तर्राष्ट्रिय समुदायले अहिले नेपाली चलचित्र र सर्जकहरूलाई नजिकबाट नियालिरहेको बताउँदै मन्त्री पौडेलले यस क्षेत्रको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याए । 

कलाकारहरूको योगदानलाई आफूले उच्च सम्मान गर्ने भन्दै उहाँले नेपाली सिनेमाको यो यात्रामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।