काठमाडौँ । माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताज्यूसँग आज मित्रराष्ट्र जर्मनी सरकारको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) अन्तर्गत दक्षिण एसिया डिभिज तथा डेभलपमेन्ट प्रमुख बारबरा शेफर र नेपालका लागि जर्मनीका राजदूत महामहिम H.E. उडाे भाेल्जले शिष्टाचार भेटघाट गरेका छन्।
भेटघाटमा जर्मनी सरकारका विकास साझेदार संस्थाहरू केएफडब्लु, जिआइजेड तथा पिटिबी नेपालका प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।
भेटका क्रममा नेपाल र जर्मनीबिच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो।
साथै, नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मन सरकारले प्रदान गर्दै आएको सहयोगको उच्च प्रशंसा गरिएको थियो।
मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा जर्मनी सरकारको निरन्तर सहयोग र साझेदारीप्रति आभार व्यक्त गरिन् । उनले सरकारका प्राथमिकताका क्षेत्रहरूमा विकास साझेदारहरूको सहयोगले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
सो अवसरमा जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै वर्तमान आवश्यकता तथा सरकारका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा समेत सहयोग, साझेदारी र साथ निरन्तर रहने विश्वास व्यक्त गरेको थियो।
भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्