पोखरा–दुबई–पोखरा उडानले नयाँ आयाम खोल्नेछ



पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । १ जनवरी २०२३ देखि औपचारिक सञ्चालनमा आएको यो विमानस्थलबाट अझै नियमित अन्तराष्ट्रिय उडान हुन सकेको छैन । हिमालयन एयरलाइन्सले कही समय प्रयास गरे पनि सफल हुन सकेन । एयरबस ए ३२० र बोइङ ७३७ जस्ता मध्यम दुरीका न्यारो–बडी विमानहरूले सहजै उडान र अवतरण गर्न सक्ने भए पनि केही चार्टर्ड उडानहरू बाहेक नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । तर, हालै फ्लाइ दुबई एयरलाइन्सले आगामी २३ सेप्टेम्बर २०२६ देखि पोखराबाट दुबईका लागि पहिलो पटक नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने घोषणा गर्दै टिकट बुकिङ खुला गरेपछि एकखालको उत्साह छाएको छ । फ्लाइ दुबईको नियमित उडान र यसले देखाएको सम्भावनाबारे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासँग टक्सार न्युजले गरेको कुराकानी :

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । यो उडानबाट समग्र पोखरा र पर्यटन क्षेत्रमा कस्ता लाभ पुग्ने अपेक्षा गरिएको छ । साथै, यो सेवा दिगो र निरन्तर बनाउन के गर्नुपर्ला ?

हामी सबैलाई थाहा छ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनपछि हिमालयन एयरलाइन्सले हप्तामा एक पटक पोखरा–ल्हासा–पोखरा उडान गरेको थियो भने सिचुआन एयरलाइन्सले करिब ५ महिनासम्म चार्टर उडान सञ्चालन गरेको थियो ।

हाल फ्लाइ दुबईले दुबई–पोखरा–दुबई नियमित उडानका लागि अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले आफ्नो वेबसाइटमार्फत टिकट बिक्री पनि खुला गरिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक स्वीकृति समेत प्राप्त गरिसकेको अवस्था छ ।

पोखरा तथा गण्डकी प्रदेश पर्यटनको दृष्टिले अत्यन्त सम्भावना बोकेको क्षेत्र हो । साथै, यस क्षेत्रबाट वैदेशिक रोजगारीका लागि जाने नागरिकको सङ्ख्या पनि उल्लेख्य छ दुबई हाल विश्वकै प्रमुख ट्रान्जिट हब मध्ये एक भएकाले अमेरिका, क्यानडा, बेलायत साथै युरोपका विभिन्न गन्तव्यमा यात्रा गर्ने यात्रुले पोखराबाटै सहजरूपमा अन्तरािष्ट्रय यात्रा गर्न सक्नेछन् ।

यसले पोखरा र आसपासका नागरिकलाई ठुलो सुविधा प्रदान गर्नुका साथै पर्यटन प्रवर्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । त्यसैले फ्लाई दुबईको नियमति उडान र सफल हुने सम्भावना पर्याप्त रहेकोमा हामी आशावादी छौँ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय उडान सुरु भए पनि दिगो हुन सकिरहेको छैन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि त्यही अवस्था दोहोरिँदैन भन्ने आधार के हो ?

हिमालय एयरलाइन्सले सञ्चालन गरेको पोखरा– ल्हासा उडान दिगो हुन नसक्नुका केही विशेष कारण थिए ।

ल्हासा नेपाली यात्रुका लागि ठुलो व्यवसायिक केन्द्र होइन, नेपालीको लागि पायक पने क्षेत्र पनि भएन । त्यसमाथि ल्हासा विमानस्थल हाइ अल्टिच्युडमा अवस्थित भएकाले सञ्चालन तथा यात्रु व्यवस्थापनका दृष्टिले पनि केही चुनौतीा थिए । त्यसैले उक्त उडानमा अपेक्षित यात्रु सङ्ख्या नपाउँदा दीर्घकालीनरुपमा सञ्चालन हुन सकेन ।

उडानको दिगोपना मुख्यतः यात्रु चाप र व्यावसायिक सम्भावनामा निर्भर हुन्छ । कुनै पनि एयरलाइन्सले पर्याप्त यात्रु र बजार पाएमा मात्रै नियमित सेवालाई निरन्तरता दिन्छन् । भैरहवा र पोखराको सन्र्दभलाई एउटै ढङ्गले हेर्न मिल्दैन ।

पोखरा नेपालको पर्यटकीय राजधानीकारूपमा परिचित छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण उच्च छ । साथै पोखरा धार्मिक पर्यटका लागि मुक्तिनाथ जाने प्रमुख प्रवेशद्वार, अन्नपूर्ण क्षेत्र, विभिन्न ट्रेकिङ रुट तथा साहसिक र मनोसञ्जनात्मक गतिविधिका लागि पनि गेटवेका रुपमा विकसित भइरहेको ठाउँ हो ।

अब विदेशी पर्यटकहरू पनि पोखरामा सिधै आउन सक्ने वातावरण बन्नेछ । जसकारण पोखराबाट हुने अन्तरािष्ट्रय उडानको दिगोपनाको सम्भावना विगतका तुलनामा बलियो हुने हाम्रो विश्वास छ ।

यति धेरै सम्भावना हुँदा पनि झन्डै दुई वर्षसम्म किन अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेनन् त ?

हवाई सेवा सञ्चालन र त्यसको दिगोपना एकै दिनमा सुनिश्चित हुने विषय पनि होइन । कुनै पनि नयाँ गन्तव्यमा उडान सुरु गर्नुअघि एयरलाइन्सहरूले विस्तृत बजार अध्ययन र सम्भाव्यता विश्लेषण गर्ने गर्छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पनि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले यसको सम्भावना अध्ययन गरिरहेका थिए । यस अवधिमा चार्टर उडान सञ्चालन भए भने फ्लाई दुबई, एयर अरेबिया लगायत कम्पनीहरूले पनि बजारको अवस्था मूल्याङ्कन गरेका थिए ।

पछिल्लो समय यात्रु संभावना र बजार माग बढ्दै गएपछि नियमित अन्तर्राष्ट्रिय उडानतर्फ उनीहरू आर्किर्षत भएका हुन् । सरकारको सेवा सुविधाको हिसाबले पनि पोखरा अहिले धेरै हदसम्म तयार भइसकेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक श्रमसम्बन्धी सेवा उपलब्ध छन्, म्यानपावर कम्पनीहरुको पहुँच छ र स्वास्थ्य परीक्षणका लागि आवश्यक अस्पताल तथा मेडिकल सुविधा पयाप्त छन् ।

भिसा आवेदन तथा वितरण केन्द्र भने पोखरामा स्थापना भएका छैन जसका लागि सम्बन्धित निकायसँग पहल भइरहेको छ । यसबाहेक ग्राउन्डेड, ह्यान्डलिङ, कार्गो, प्लान्ट क्वारेन्टिन, सुरक्षा तथा अन्य आवश्यक विमानस्थल पूवाधार र सेवाहरू उपलब्ध रहेकाले अब धेरै यात्रुका लागि अन्तरािष्ट्रय उडान गर्न काठमाडौँ धाउनुपर्ने बाध्यता क्रमश, घट्दै जानेछ ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन स्थानीय उद्योगी–व्यवसायी, पर्यटन क्षेत्र तथा गण्डकी प्रदेश सरकारले अब के–कस्तो भूमिका खेल्नुपर्ला ? साथै, के–कस्ता थप पहल भएमा भविष्यमा अन्य अन्तर्राष्ट्रिय उडानहरू आकर्षित होलान् ?

यसका लागि पोखराका पर्यटन व्यवसायी, उद्योगी व्यवसायी, उद्योग वाणिज्य सङ्घ तथा सम्बन्धित सरोकारवाला निकायले पोखरा, गण्डकी प्रदेशको व्यापकरूपमा प्रर्वर्धन गर्न आवश्यक छ ।

विषेशगरी अन्तर्राष्ट्रिय बजारमा पोखरालाई आर्कषक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सशक्त प्रचार–प्रसार र प्रर्वधनात्मक अभियान सञ्चालन गर्नुपर्छ । यदी विदेशी पर्यटक तथा बाह्य मुलुकका नागरिकलाई नेपाल, विशेषगरी पोखार भ्रमणका लागि थप आर्कषित गर्न सकियो भने यात्रुको चाप बढ्नेछ । त्यसले हाल सञ्चालनमा आउन लागेको हवाई सेवा मात्र होइन, अरु एयरलाइन्सलाई पनि उडान सञ्चालन गर्न प्रेरित गर्नेछ ।

अन्त्यमा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गर्नुपर्ने तयारी अथवा अन्य पक्षका विषयमा केही भन्न चाहनुहुन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक सबै पूर्वाधार तथा मापदण्डहरू पूरा गरिसकेको छ । फ्लाई दुबईलाई अनुमति दिनु अघि सम्बन्धित एयरलाइन्सको प्राविधिक टोलीले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ, सुरक्षा व्यवस्था, सञ्चालन क्षमता लगायतका सम्पूर्ण पक्षहरूको विस्तृत अनुगमन तथा मूल्याङ्कन गरेको थियो ।

उक्त अनुगमनबाट विमानस्थल अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि उपयुक्त र सन्तोषजनक रहेको निष्कर्ष निस्किएपछि मात्र उडान अनुमति प्रदान गरिएको हो । हाल पोखरा विमानस्थल न्यारो–बडी जहाजहरूको सुरक्षित अवतरण र उडानका लागि पूर्ण रूपमा सक्षम र तयार अवस्थामा रहेको छ ।

यस उडानको मुख्य सन्देश भनेको पोखरा अन्तर्राष्ट्रिय स्तरको हवाई गन्तव्यका रूपमा स्थापित हुँदै गएको भन्ने हो ।

साथै, नेपालमा निर्माण भएका अन्य नयाँ विमानस्थलहरूको सञ्चालनले पनि स्थानीय स्तरमा प्रत्यक्ष लाभ पुग्ने, रोजगारीका अवसर सिर्जना भई आर्थिक गतिविधि वृद्धि गर्ने र समग्र राष्ट्रिय उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।