सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताएकी छिन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद खडकबहादुर विश्वकर्माले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनि राख्नु भएको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त स्पष्टिकरण दिएकी हुन् ।

उनले सरकारले सांसदहरुले समेत लामो समयदेखि प्रश्न उठाएको उक्त विधेयकलाई संशोधन गरेर सरकारले जनताको जल्दाबल्दा समस्या समाधानको कामलाई सहज बनाएको दावी गरिन् । उनले उक्त विधेयकमा केही समस्या भए समाधानका लागि प्रतिस्थापन विधेयक आउँदा सुधार गरेर लैजान सकिनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराइन् ।

मन्त्री गौतमले भनिन्, “संसद अधिवेशन बन्द भयो । सार्वजनिक खरिद ऐनले जहिले पनि अप्ठयारो परिरह्यो भन्ने कुरा यही संसदमा धेरै पटक कुरा उठिराखेको नै हो । अनि कसरी सम्बोधन गर्ने भन्दा त ततकाल जुन स्पिडमा सरकार हिँडिरहेको छ । कसरी सम्बोधन गर्ने ? भन्दा अध्यादेश ल्याएर सार्वजनिक खरिद सम्बन्धि व्यवस्थालाई संशोधन गरेर छिटो गरौ भनेर अध्यादेश ल्याइएको हो । अव प्रतिस्थापन विधेयक ल्याउँदा मिलाउने ठाउँहरु छन नै ।”

कानूनमन्त्री गौतमले सरकार जनताको समस्या समाधानका लागि गतिका साथ अघि बढेको पनि बताइन् ।