काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।
चितवनमा आयोजित महाधिवेशनमा जाने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुर गर्दै अध्यक्ष लिङदेनले एउटा राजनीतिक दलको महाधिवेशनमा अर्को दलका नेताले शुभकामना दिने विषयलाई स्वाभाविक र सुखद् परम्परा भएको बताए ।
अध्यक्ष लिङदेनले गत फागुनमा सम्पन्न निर्वाचनमा अभूतपूर्व जनमत प्राप्त गरेको र जनताको विशिष्ट चाहनाको प्रतिनिधित्व गर्ने पार्टीको ऐतिहासिक महाधिवेशनमा सहभागी हुनु एक जिम्मेवार राजनीतिक नेताको कर्तव्य भएको बताए । उनले रास्वपाको यस अवसरमा आफ्नो उपस्थिति राजनीतिक संस्कार र जिम्मेवारीवोधको प्रतिक भएको समेत उल्लेख गरे ।
सोही क्रममा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राप्रपाको आगामी महाधिवेशनका बारेमा समेत जानकारी दिए । आम निर्वाचनका कारण केही समय पछि सरेको राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते गर्ने निर्णय भएको उनले स्पष्ट पारे ।
उक्त महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना, नीति निर्माण र विगतको समीक्षा गर्ने उनको भनाइ छ । महाधिवेशन नै राजनीतिक दलको महत्वपूर्ण वैचारिक र साङ्गठनिक थलो भएकाले सबै नीतिगत निर्णयहरू त्यहीँबाट हुने उनले बताए ।
पार्टीभित्रको आन्तरिक असन्तुष्टि र केही नेताहरूको बहिर्गमनका विषयमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले कुनैपनि सदस्यले पार्टी छाड्नु दुःखद् पक्ष भएको बताए। गत आम निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा फरक मत राख्ने केही नेताहरु हाल पार्टीबाट बाहिरिएको उनले उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस्