‘ग्लोवल आइएमई बैंकद्वारा ‘उद्यमशाला’ कार्यक्रमको शुभारम्भः सीपदेखि उद्यमसम्मको यात्रामा साथ दिने लक्ष्य’


काठमाडाैँ । ग्लोवल आइएमई बैंकले ‘अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला उद्यम दिवस’ को अवसर पारेर ‘ग्लोबल आइएमई उद्यमशालाः सीपदेखि उद्यमसम्म’ नामक नयाँ अभियानको शुरुवात गरेको छ ।

बैंकले साना व्यवसायी तथा उद्यम गर्न इच्छुक युवा, महिला र विभिन्न समुदायका व्यक्तिहरूलाई लक्षित गर्दै यो ‘इन्क्युबेसन’ कार्यक्रम सार्वजनिक गरेको हो । बैंकका एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालकाअनुसार यस कार्यक्रमको मुख्य उद्देश्य उद्यमशीलता प्रवद्र्धन र स्वरोजगार सिर्जना गर्नु हो ।

यो पहल केवल वित्तीय पहुँचमा मात्र सिमित नभई उद्यमीहरूलाई आवश्यक पर्ने ज्ञान, सीप, व्यावसायिक कला र बजारसम्मको पहुँच सुनिश्चित गर्न केन्द्रित रहने बैंकले जनाएको छ ।

यस कार्यक्रमअन्तर्गत बैंकले आजैबाट आवेदन समेत आह्वान गरेको छ । निश्चित अवधिसम्म प्राप्त हुने आवेदनहरूमध्येबाट छनोटमा परेका व्यक्तिहरूलाई ‘उद्यमशाला’ मार्फत व्यावसायिक अध्ययन, सीप विकास र ज्ञान अभिवृद्धिका विभिन्न क्रियाकलापहरूमा सहभागी गराइनेछ ।

बैंकले यस नविन शुरुवातबाट उद्यमशीलताको विकासमा सहज सहयोग, सरल वित्तीय पहुँच र व्यावसायिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरेको छ । कार्यक्रमको घोषणासँगै बैंकका कर्मचारीहरूमा समेत उत्साह थपिएको बैंकले जनाएको छ ।  

बैंकका साना तथा मझौला (एसएमई) एवं रिटेल बैंकिङ विभागमा कार्यरत सुनिल पोखरेलकाअनुसार यो कार्यक्रम विशेष गरी व्यवसाय सञ्चालन गरिरहेका वा नयाँ व्यावसायिक अवधारणा (बिजनेस आइडिया) भएका उद्यमीहरूलाई केन्द्रित गरी ल्याइएको हो ।

कार्यक्रमको पहिलो चरण काठमाडौं उपत्यका र मधेस प्रदेशमा सञ्चालन गरिने बैंकले जनाएको छ । इच्छुक उद्यमीहरूले बैंकले उपलब्ध गराएको लिङ्कमार्फत आवेदन दिन सक्नेछन् । दर्ता भइसकेका व्यवसाय वा नयाँ सोच मात्र भएका व्यक्तिहरूले पनि आफ्नो व्यावसायिक विवरण, स्थान र सम्पर्क नम्बरसहित फारम भर्नुपर्नेछ ।

प्राप्त आवेदनहरूमध्येबाट निश्चित मापदण्डका आधारमा स्क्रिनिङ गरी उत्कृष्ट व्यवसायीहरूलाई सर्टलिस्ट गरिने र उनीहरूलाई कार्यक्रममा सहभागी गराइने पोखरेलले जानकारी दिए । यस कार्यक्रममा कृषि, हस्तकला, पर्यटन तथा वातावरणमैत्री एवं दिगो व्यवसाय (ग्रिन एन्ड सस्टेनेबल बिजनेस) लाई विशेष प्राथमिकता दिइने बैंकको भनाइ छ । 

‘ग्लोवल आइएमई उद्यमशाला’ ले विशेष गरी पिछडिएका र विपन्न वर्गका समुदायबाट सञ्चालित लघु तथा साना उद्यमहरूलाई विशेष प्राथमिकतामा राखेको छ । व्यवसायलाई विस्तार गर्ने सोच भएका तर कानुनी जटिलता, दर्ता प्रक्रिया, दैनिक कार्यसञ्चालन वा बजार व्यवस्थापनमा समस्या भोगिरहेका उद्यमीहरूलाई बैंकले ‘ह्यान्डहोल्डिङ’ (प्रत्यक्ष सहयोग) मार्फत व्यावसायिक इकोसिस्टममा जोड्ने लक्ष्य राखेको छ । 

साना व्यवसायलाई ठूलो बनाउने लक्ष्य राखेका उद्यमीहरूलाई यस कार्यक्रमबाट अधिकतम लाभ लिन बैंकले आग्रह गरेको छ । सम्बन्धित क्षेत्रका उद्यमीहरूले तोकिएको समयभित्रै आवेदन फारम भरी यस अवसरको सदुपयोग गर्न सक्नेछन् ।