धानमा आत्मनिर्भर बन्न मन्त्री चौधरीको जोड, आयात घटाउन प्रविधि र सिँचाइ विस्तारमा प्राथमिकता


काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधिको प्रयोग, अनुसन्धान र सिँचाइ पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले चामलको बढ्दो आयात घटाउन वर्षे र चैते धानको खेती विस्तार, उन्नत जातको विकास, प्रविधि हस्तान्तरण तथा किसानलाई उत्पादन सामग्रीमा सहज पहुँच सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरिन्।

मन्त्री चौधरीले जलवायु परिवर्तनले कृषि क्षेत्रमा बढाइरहेको चुनौतीलाई मध्यनजर गर्दै जलवायुमैत्री प्रविधिको प्रयोग अपरिहार्य भएको बताइन्। यसका लागि सरकार, अनुसन्धान संस्था, निजी क्षेत्र र किसानबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उनले स्थानीय तथा जङ्गली धानका जातको पहिचान, संरक्षण र उपयोगले जैविक विविधता जोगाउनुका साथै जलवायु सहनशील जात विकास र दीर्घकालीन खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिन्।

यस वर्षको धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ ले वर्तमान कृषि क्षेत्रका आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने विश्वास पनि मन्त्री चौधरीले व्यक्त गरेकी छन्।

उनका अनुसार उत्पादन वृद्धि, मूल्य सुनिश्चितता र आधुनिक कृषि प्रविधिको विस्तारमार्फत नेपाललाई धान र चामलमा आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न सकिनेछ।