आजदेखि प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्काशन, कति पाइन्छ व्याज ?


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (असार १६) देखि ३ अर्ब रुपैयाँ बराबरको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन तथा बिक्री खुला गरेको छ।

१० वर्ष अवधिको उक्त डिबेञ्चरमा वार्षिक ६।२५ प्रतिशत ब्याजदर रहनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको निष्काशनमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्टासम्म आवेदन दिन सक्नेछन्। छिटोमा असार १९ गते र मागअनुसार पूर्ण आवेदन नपरे ढिलोमा असार ३० गतेसम्म आवेदन खुला रहनेछ।

डिबेञ्चरको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले बैंकलाई केयरएनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च सुरक्षित रहेको संकेत गर्दछ।