तुँदी पावरले आइपिओ ल्याउने तयारी, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त


काठमाडौं । तुँदी पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आइपिओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिएको हो।

यससम्बन्धी सम्झौतापत्रमा तुँदी पावरका महाप्रबन्धक इन्द्रप्रसाद ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय, कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणका लागि निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

तुँदी पावरले म्याग्दी जिल्लास्थित रहुगंगा नदीमा निर्माण गरेका ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले र ४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ।

कम्पनीका अनुसार दुवै आयोजनाबाट उत्पादित विद्युत राहुघाट सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर व्यावसायिक रूपमा बिक्री भइरहेको छ।