विधि विज्ञान प्रयोगशाला विधेयकः विज्ञको परिभाषा र योग्यता स्पष्ट हुनुपर्नेमा सभापति शेरचनको जोड


काठमाडौँ । सङ्घीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजश्वी शेरचनले ‘विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ मा विशेषज्ञको परिभाषा र न्युनतम योग्यता स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने बताएकी छन् ।

आज बसेको समिति बैठकमा विधेयकमाथिको छलफलका क्रममा सभापति शेरचनले विशेषज्ञको रायका आधारमा अदालतको फैसला प्रभावित भई निर्दोष व्यक्ति दोषी ठहरिन सक्ने वा दोषीले उन्मुक्ति पाउन सक्ने जोखिम रहने हुँदा यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन् ।

उनले भनिन्,“ विशेषज्ञको रायकै आधारमा सजाय हुने वा नहुने कुरा तय हुन सक्ने भएकाले यो शब्दलाई हलुका रूपमा लिनु हुँदैन । विज्ञको योग्यताका विषयमा थप छलफल आवश्यक रहेकाले यसलाई अहिल्यै नटुङ्ग्याई थप अध्ययनपछि मात्र पारित गर्नुपर्छ ।”

विशेषज्ञ हुनका लागि कम्तीमा स्नातकोत्तर (मास्टर्स) तह उत्तीर्ण गरेको र नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट निश्चित अवधिको तालिम प्राप्त गरेको हुनुपर्ने सभापति शेरचनको भनाई थियो ।

बैठकमा सभापति शेरचनले विधेयकको परिभाषा खण्डमा रहेका विषयहरूमा दफावार छलफलका क्रममा प्राप्त सुझावका आधारमा पुनः परिमार्जन गर्न सकिने जानकारी दिइन् ।