परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चालाई पूर्ण रूपमा आधारहीन बताएका छन्।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङमा खानी उत्खननका विषयमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको स्पष्ट पारे।
उनले केही डिजिटल सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा गरिएको दाबी तथ्यहीन रहेको उल्लेख गर्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको जानकारी दिए।
“मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चामा कुनै सत्यता छैन। यस क्षेत्रमा खानी उत्खननसम्बन्धी कसैसँग कुनै सहमति वा सम्झौता भएको छैन,” मन्त्री खनालले भने।
उनका अनुसार नेपालको संविधानले प्राकृतिक स्रोतको उपयोगबारे गरेको व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध छ। साथै नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि सम्झौता सरकारले नगर्ने उनले स्पष्ट पारे।
मन्त्री खनालले मुस्ताङ क्षेत्रमा खानी हुनसक्ने सम्भावनाबारे प्रारम्भिक अध्ययनहरूले केही संकेत गरे पनि त्यसलाई पुष्टि गर्न थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको बताए।
उनले यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक अध्ययन तथा प्रक्रिया अघि बढाउने जानकारी पनि दिए।



प्रतिक्रिया दिनुहोस्