काठमाडौँ । माउण्ट एभरेष्ट पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आइपिओ) बाँडफाँड गरिएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको केन्द्रीय कार्यालयमा सेयर बाँडफाँड गरिएको हो ।
बिक्री प्रबन्धकका अनुसार गोलाप्रथाका माध्यमबाट गरिएको यस आइपिओ बाँडफाँडमा भाग्यमानी एक लाख ४२ हजार ७६० जना सर्वसाधारण लगानीकर्ताले जनही १० कित्ताका दरले कुल १४ लाख २७ हजार ६ सय कित्ता सेयर प्राप्त गरेका छन् ।
नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते यस कम्पनीलाई सर्वसाधारणमा आइपिओ निष्कासन गर्नका लागि अन्तिम अनुमति प्रदान गरेको थियो, जस अनुरूप कम्पनीले असार ३ गतेदेखि असार ८ गतेसम्म सो परिमाणको सेयर बिक्रीमा ल्याएको थियो ।
आइपिओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । आइपिओ परेका सफल लगानीकर्ताहरूको डिम्याट खातामा सेयर जम्मा भएपछि नेप्सेमा सूचीकरण प्रक्रिया अगाडि बढ्नेछ र त्यसपछि दोस्रो बजारमा शेयर कारोबार खुला हुनेछ ।
कम्पनीले सोलुखुम्बु जिल्लामा कुल १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजनाको भौतिक निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरिसकेको छ । आयोजनाले विं.सं. २०८१ साल साउन महिनादेखि नै व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिरहेकाले यस कम्पनीको वित्तीय अवस्था बलियो रहने र लगानीकर्ताले छिट्टै प्रतिफल पाउने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्