आतिथ्य सत्कार नै नेपालका लागि प्रमुख प्राथमिकताको क्षेत्र


काठमाडौँ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) का डिन प्रा. डा. विजय केसीले आतिथ्य सत्कार नै नेपालका लागि प्रमुख प्राथमिकताको क्षेत्र हुनुपर्ने बताएका छन् ।
“नेपालको समग्र आर्थिक समुन्नतिका लागि जलविद्युत्, औषधिजन्य जडीबुटी लगायत सयौँ अन्य क्षेत्रहरू देखाइने वा चर्चा गरिने भए तापनि पर्यटन र आतिथ्य सत्कार नै नेपालको मुख्य राष्ट्रिय पहिचानको विषयवस्तुका रूपमा कायमै रहेको छ,” डिन प्रा. डा. केसीले भने ।
नेपालको अग्रणी व्यवस्थापन शिक्षण संस्था, काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले ग्लोबल कलेज अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (केयू-गेट) सँगको रणनीतिक साझेदारीमा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको ‘ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी (बीपीएच)’ कार्यक्रमको पहिलो र दोस्रो ब्याचका विद्यार्थीहरूको दीक्षान्त समारोहमा डा. केसीले शैक्षिक प्रणालीलाई देशको माटो र आवश्यकता सुहाउँदो गरी पुनर्संरचना गर्नुपर्छ भन्ने सोचका साथ यो चार वर्षे स्नातक तहको पाठ्यक्रम विकसित गरिएको बताए ।
प्रा. डा. केसीले नेपालको समग्र आर्थिक समुन्नतिका लागि जलविद्युत्, औषधिजन्य जडीबुटी लगायत सयौँ अन्य क्षेत्रहरू देखाइने गरिए तापनि पर्यटन नै नेपालको मुख्य राष्ट्रिय पहिचानको विषयवस्तुका रूपमा कायमै रहेको चर्चा गरे ।
“ पर्वतरोहण, हिमालजस्ता बहुसंस्कतिहरूमात्र होइनन आतिथ्य सत्कार हाम्रो नै प्रमुख सम्पदा हो । यसलाई अझ बढी वैज्ञानिक र व्यावसायिक तुल्याइनुपर्छ,” केसीको भनाइ थियो ।
यसैगरि, शिक्षाविद् प्रा. डा. सुबोधराज शर्माले विश्व तीव्र रूपमा अघि बढिरहँदा पनि विश्वव्यापी परिवर्तनहरूले नछुने नेपालको महत्त्वपूर्ण अभौतिक सम्पत्ति आतिथ्य सत्कार लाई अझ बढी पूर्ण व्यावसायिक बनाउनुपर्ने खाँचो औँल्याए ।
काठमाडौँ विश्वविद्यालयका पूर्वरजिस्ट्रार समेत रहेका शिक्षाविद् शर्माले भने, “विश्वभरि नै एआई प्रविधिको विकासले गर्दा प्राध्यापन क्षेत्रमा समेत सङ्कट उत्पन्न भइरहेको छ र उपभोक्ताहरूको चाहना पनि परिवर्तन भइरहेको छ । तर, आतिथ्य सत्कार मात्र एउटा यस्तो क्षेत्र हो, जसलाई प्रविधिले तत्कालै नक्कल गर्न सक्दैन ।”
नेपालमा शताब्दीयौँदेखि कायम रहँदै आएको आतिथ्य सत्कारको परम्परागत तौरतरिका र शैलीहरू आधुनिक जीवनमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको चर्चा गर्दै शर्माले थपे, “यो क्षेत्र पूर्ण रूपमा मानवीय समवेदनासँग जोडिएको छ । कुनै पनि ग्राहकले खोजेको भावनालाई एआई प्रविधिले सहजै बुझ्न सक्दैन, त्यसका लागि मानव संवेदनाकै आवश्यकता पर्दछ ।”
गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाइँले २० वर्षअघि नेपालमा पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा विश्वस्तरीय संस्थाको खाँचो देखेर गेट कलेजको स्थापना गरिएको स्मरण गरे । उनले केयूसँगको साझेदारीमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको हस्पिटालिटी शिक्षाको स्नातक तहको पाठ्यक्रम विकास गरी सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गरे ।
“संसारभरि आतिथ्य सत्कार विषयको स्नातक तहमा आवेदन गर्ने विद्यार्थीहरूको सङ्ख्या घटिरहेको छ भनेर एक खाले तर्क गर्ने गरिन्छ, तर गेट-केयूको बीपीएच कार्यक्रममा भर्ना हुन विद्यार्थीहरूले देखाएको उत्साहका कारण अहिले विश्वविद्यालयसँग वार्षिक कोटा (क्षमता) वृद्धिका लागि विशेष अनुरोध नै गर्नुपरेको अवस्था छ,” लकाइँले भने ।
हाल गेट कलेजमा केयू–गेटअन्तर्गतको आतिथ्य सत्कार स्नातक तह (बीपीएच) मा छैठौँ ब्याचका विद्यार्थीहरू अध्ययनरत रहेको जानकारी सो कार्यक्रममा दिइयो ।
दीक्षान्त समारोहमा कुसोमका डिन प्रा. डा. केसी, काठमाडौँ विश्वविद्यालयका पूर्व रजिस्ट्रार शर्मा, काठमाडौँ विश्वविद्यालयकी सहप्राध्यापक डा. रोशी लामिछाने, डा. खगेन्द्र आचार्य तथा गेट कलेज सञ्चालक समितिका अध्यक्ष सुदर्शन चापागाईं लगायतले ‘ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी’ (बीपीएच) का उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।