काठमाडौंमा घरजग्गा कारोबारमा उछाल, कारोबार मूल्य २२३ प्रतिशतले बढ्यो


काठमाडौं। देशका ६ महानगरपालिकामध्ये आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा घरजग्गा कारोबार सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा कारोबारको वर्तमान स्थिति अनुसार कारोबार संख्या, क्षेत्रफल र मूल्य—तीनै सूचकमा काठमाडौंले सबैभन्दा उच्च वृद्धि हासिल गरेको हो।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०८.४२ प्रतिशतले बढेको छ। दोस्रो स्थानमा रहेको पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुरमा ७३.८१ प्रतिशत, वीरगञ्जमा ३१.०७ प्रतिशत, भरतपुरमा २९.२१ प्रतिशत र विराटनगरमा २७.९२ प्रतिशतले कारोबार संख्या बढेको छ।

घरजग्गा किनबेच भएको कुल क्षेत्रफल पनि सबै ६ महानगरपालिकामा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। यसमध्ये काठमाडौंमा सबैभन्दा धेरै ११९.८९ प्रतिशतले क्षेत्रफल बढेको छ भने सबैभन्दा कम वृद्धि भरतपुर महानगरपालिकामा २९.२१ प्रतिशत रहेको छ।

यस्तै, घरजग्गा कारोबारको कुल मूल्यमा पनि सबै महानगरपालिकामा उल्लेख्य सुधार देखिएको छ। काठमाडौं महानगरपालिकामा कारोबार मूल्य अघिल्लो वर्षको तुलनामा २२३.१२ प्रतिशतले बढेको छ, जुन सबै महानगरपालिकामध्ये सर्वाधिक हो।

राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय घरजग्गा बजारमा सुस्ताएको कारोबार क्रमशः पुनः चलायमान बन्दै गएको संकेत गरेको छ। विशेषगरी काठमाडौंमा कारोबार संख्या मात्र होइन, कारोबार हुने क्षेत्रफल र मूल्यसमेत दोब्बरभन्दा बढी दरले बढ्नुले बजारमा लगानीकर्ताको सक्रियता बढ्दै गएको देखिन्छ।