‘नेपाल पर्यटन बोर्ड वेलनेस रील प्रतियोगिता – २०२६’ काे कोशी प्रदेशबाट राउत बनिन् विजेता


काठमाडौँ। नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन बोर्ड वेलनेस रील प्रतियोगिता–२०२६’ मा कोशी प्रदेशबाट मीना कुमारी राउत विजेता बनेकी छिन् । प्रतियोगितामा देशभरबाट प्राप्त १११ वटा रीलमध्ये सात प्रदेशबाट एक–एक जना गरी सात जना विजेता छनोट गरिएको हो । जसमा कोशी प्रदेशबाट राउत विजेता बनेकी हुन् ।

राउत त्रिभुवन विश्वविद्यालयमा योग विज्ञानमा स्नातकोत्तर गरिरहेकी छिन् । उनी रजिष्ट्रर योग शिक्षिका पनि हुन् । प्रतियोगितामा भिडियो खिचेर अर्जुन भुषाल र सुमन आचार्यले सहयोग गरेका थिए भने भिडियो सम्पादन अर्जुन भुषालले गरेका हुन् ।

राउतले सन् २०२३ मा आयोजित तेस्रो दक्षिण एसियाली योग खेलकुद च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन्। त्यसपछि सन् २०२४ मा सम्पन्न प्रथम भारत–नेपाल योगासन खेलकुद च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिइन्।

त्यसै वर्ष आयोजित राष्ट्रिय योग खेलकुद च्याम्पियनसिप–२०२४ मा पनि उनले स्वर्ण पदक जितिन्। उत्कृष्ट प्रदर्शनकै आधारमा सोही प्रतियोगितामा उनलाई ‘मिस योगी–२०८०’ उपाधिसमेत प्रदान गरिएको थियो।

उनले सन् २०२५ अप्रिल ५ र ६ मा आयोजित १६औँ विश्व योगासन खेलकुद विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी थिइन्।

प्रतियोगिताअन्तर्गत मधेशबाट सुमित्रा आचार्य, बागमतीबाट एरिक नकर्मी, गण्डकीबाट रोशन ढकाल, लुम्बिनीबाट भास्कर महर्जन, कर्णालीबाट सन्तोष बुढा र सुदूरपश्चिमबाट हिमालय भट्ट विजेता घोषित भएका छन्। प्रत्येक विजेताले नगद ७५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी, जुरी अवार्डतर्फ आशा पौडेल छनोट भएकी छन्। उनले नगद २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्।

प्रतियोगितामा रञ्जीत श्रेष्ठ, कैलाश कार्की, ‘घुमन्ते बुढाबुढी’, किरण अधिकारी र आश्रितलाई ‘स्पेसल मेन्सन’ सम्मान प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार प्रतियोगितामा नेपालभरका १११ जना सिर्जनाकर्ताले सहभागिता जनाएका थिए। सहभागीहरूले हिमालयको प्राकृतिक सौन्दर्य, योग, ध्यान, आयुर्वेद, आध्यात्मिक पर्यटन तथा प्रकृतिमा आधारित उपचार प्रणालीलाई समेट्दै वेलनेस पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका रील तयार गरेका थिए।

प्रतियोगिताका प्रविष्टिको मूल्याङ्कन चलचित्र निर्देशक मिनबहादुर भाम र वेलनेस विज्ञ शोभिता सिम्खडाले गरेका थिए।

बोर्डले प्रतियोगिताले नेपालको मौलिक वेलनेस परम्परा र सचेत जीवनशैलीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न योगदान पुर्‍याएको विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ।