काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड (जेएएफएल) ले विशेष साधारणसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि रणनीतिक प्राथमिकता सार्वजनिक गरेको छ।
कम्पनीका अध्यक्ष पवन गोल्यानले विशेष साधारणसभा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आर्थिक वर्ष २०८२/८३ को प्रगति समीक्षा, विभिन्न रणनीतिक प्रस्ताव अनुमोदन तथा आगामी आर्थिक वर्षका प्राथमिकता तय गरिएको बताएका छन्।
उनका अनुसार कम्पनीले आगामी वर्ष ‘माटो नेपाल’ ब्रान्डको बजार विस्तार, प्रशोधन तथा वितरण पूर्वाधार सुदृढीकरण, मसला प्रशोधन, कसाभा (सिमल तरुल), बाँस, अम्बा तथा किसानसँग जोडिएका उत्पादनमूलक परियोजनालाई प्राथमिकताका साथ अघि बढाउनेछ। कम्पनीले विस्तारको चरणबाट दीर्घकालीन संस्थागत विकासतर्फ यात्रा गरिरहेको गाेल्याणकाे भनाइ छ।
अध्यक्ष गोल्यानले कम्पनीको लक्ष्य केवल आम्दानी बढाउनु मात्र नभई किसानको आय वृद्धि, महिला उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय स्तरमा प्रशोधन उद्योग विस्तार, आयात प्रतिस्थापन तथा निर्यातको सम्भावना अभिवृद्धि गर्नु रहेको बताएका छन्।
विशेष साधारणसभा सफल बनाउन सहयोग गर्ने शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी, किसान तथा साझेदारप्रति उनले आभार व्यक्त गर्दै कम्पनीको दीर्घकालीन विकास यात्रामा सबै पक्षको निरन्तर साथ र विश्वास आवश्यक रहने उल्लेख गरेका छन्।
जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले पछिल्लो समय कृषि मूल्य शृङ्खला विस्तारसँगै संस्थागत विकासलाई पनि तीव्रता दिएको छ। कम्पनीले ‘माटो नेपाल’ ब्रान्डमार्फत किसानका उत्पादनलाई बजारसँग जोड्ने अभियान विस्तार गरिरहेको छ भने पुँजी संरचना पुनर्संरचना तथा आईपीओ निष्कासनको तयारीसमेत अघि बढाएको छ।
सम्बन्धित समाचारः


प्रतिक्रिया दिनुहोस्