काठमाडाैँ । उद्योग विभागका निर्देशक छविलाल पौडेलले औद्योगिक सम्पतीसम्बन्धी प्रश्तावित विधेयकले बौद्धिक सम्पती संरक्षण गर्नुका साथै ब्राण्ड जोगाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले प्रश्तावित विधेयकमा पहिलोपटक ‘वेल–नोन मार्क’ (ख्यातिप्राप्त व्यापार चिन्ह) सम्बन्धी व्यवस्था समावेश गरिएको उल्लेख गर्दै यसले ब्राण्ड जोगाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले नेपालमा उपभोक्तामाझ प्रसिद्ध भई प्रयोगमा रहेका व्यापार चिन्हलाई समेत मान्यता दिने व्यवस्था समेत विधेयकमा समावेश गरिएको बताए । निर्देशक पौडेलले हाल कार्यान्वयनमा रहेको प्याटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ लाई प्रतिस्थापन गर्ने उद्देश्यले उक्त विधेयक सार्वजनिक गरिएको भन्दै प्रश्तावित विधेयकमाथि सुझाव दिन समेत सरोकारवालामा आग्रह गरे ।
उनकाअनुसार प्रश्तावित विधेयकमा सामूहिक चिन्ह, वनस्पतिको नयाँ प्रजाति, औद्योगिक डिजाइन, तथा परम्परागत र मौलिक ज्ञान लाई समेत बौद्धिक सम्पतीको दायरामा समेट्ने प्रश्ताव गरिएको छ । उनले उद्योग विभागमा प्याटेन्ट र डिजाइन दर्ताको संख्या अत्यन्त न्युन रहेको उल्लेख गर्दै त्यसलाई बढाउन आवश्यक रहेको पनि बताए । उनले प्याटेन्ट र डिजाइन दर्ता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसमा विभाग काम गरिरहेको बताए ।
उनले बौद्धिक सम्पतीसँग सम्बन्धित सबै संघसंस्थाहरुबीच समन्वय र सहकार्य बढाउन जरुरी रहेको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्