राहदानी छपाइ खरिद प्रकरणबारे संसदीय समितिमा छलफल


काठमाडौं । राहदानी छपाइ खरिद प्रक्रियासँग जोडिएको विवाद अब संसदीय समितिमा पुगेको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यस विषयमा थप छलफल गर्न मंगलबार बिहान ९ बजे बैठक बोलाएको छ।

समिति सभापति भरतबहादुर खड्काका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय र राहदानी विभागका सम्बन्धित अधिकारीलाई उपस्थित गराएर राहदानी छपाइ प्रक्रियाबारे विस्तृत जानकारी लिइनेछ। समितिले खरिद प्रक्रिया, निर्णयका आधार तथा उठेका प्रश्नबारे स्पष्ट जवाफ खोज्ने तयारी गरेको छ।

राहदानी खरिद प्रक्रियामा करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको अनियमितता भएको आरोपसहित उजुरी समितिमा परेपछि विषयलाई प्राथमिकताका साथ अघि बढाइएको हो। समितिका अनुसार उजुरी गम्भीर प्रकृतिको भएकाले तथ्यगत जानकारी संकलन गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ।

यसअघि असार २३ गते बसेको सार्वजनिक लेखा समितिको बैठकमा पनि राहदानी छपाइ प्रक्रियामा भएको भनिएको भ्रष्टाचार तथा अनियमितताबारे प्रारम्भिक छलफल भएको थियो। त्यसक्रममा थप विवरण संकलन गरी सम्बन्धित निकायसँग प्रत्यक्ष छलफल गर्ने निर्णयअनुसार अब अधिकारीहरूलाई समितिमा बोलाइएको हो।