काठमाडौँ । वर्षा र बाढीका कारण देशका विभिन्न ठाउँमा राजमार्गहरू अवरुद्ध भएका छन्।
आज बिहान ६ः३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण विभिन्न राजमार्ग अवरुद्ध हुँदा यातायात प्रभावित भएका छन् ।
बागमती प्रदेशमा सम्भावित बाढीका कारण असार २२ गतेदेखि काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी चल्ने बी.पी. राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ (ललितपुरदेखि हेटौँडा) असार २७ गतेदेखि र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
कोशी प्रदेशमा इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । गण्डकी प्रदेशअन्तर्गत कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा बन्द छ ।
लुम्बिनी प्रदेशमा रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्