बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष भट्ट


काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका छन् । 

बुधबार अर्थ समितिको बैठकमा उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्न लागिएको बताएका हुन् ।

अध्यक्ष भट्टले नेपालमा शेयर बजार सधैं बढिरहनुपर्ने भन्ने मान्यता रहेको उल्लेख गर्दै उनले कुनैपनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने स्पष्ट पारे ।

बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब दिने गरिएको उनको गुनासो छ । उनले बोर्डको भुमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको बताए ।

उनकाअनुसार सर्ट सेलिङ प्रणाली लागू गरेपछि बजार घट्दा हाल आन्दोलनमा उत्रिने समस्याको अन्त्य हुनेछ । यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर विक्री गर्न सक्नेछन् भने मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिने व्यवस्था हुनेछ ।

बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिलेझैं सेयर किनेर मूल्य बढेपछि विक्री गरी नाफा लिन सक्नेछन् । अध्यक्ष भट्टले यस व्यवस्थापछि बजार बढ्नैपर्ने भन्ने एकतर्फी मनोविज्ञान परिवर्तन हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने दाबी गरे ।

उनले धितोपत्र बोर्डको जिम्मेवारी बजारमा नियम, नियमन र समान अवसर सुनिश्चित गर्नु मात्र भएको उल्लेख गर्दै लगानी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने बताए ।

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउन लागिएको पनि जानकारी दिए । हाल सम्पती छानबिनलगायतका सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल खस्किएको भन्ने गुनासो आएको उनको भनाइ छ ।

सम्पती छानबिन, निरीक्षण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी विषयमा धितोपत्र बोर्डले सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गर्ने पनि उनले जानकारी दिए ।

उनले नेपालको पुँजीबजार सुधारको लागी बोर्डले हालै ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजानिक गरिएको पनि जानकारी दिए । उनले आगामी आर्थिक वर्ष बोर्डले गर्ने कार्यको लागि आर्थिक वर्ष २०८३÷०८४ को पुजीँबजार नीति पनि सार्वजानिक गरिएको बताए ।