देशभर मनसुनी वायुको प्रभाव, विभिन्न ठाउँमा वर्षा


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको जनाएको छ ।

जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाकाखाले उल्लेख गरेको छ ।

देशका पहाडी भूभागका अधिकांश स्थानमा तथा तराई भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।