एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्धन


काठमाडौँ । एसियाली विकास बैंक र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्षा तथा विद्यार्थी वैज्ञानिक अनुसन्धान सीप विकास कार्यशाला सञ्चालन गरेका छन्।

यस पहलले डिजिटल प्रविधिमार्फत शिक्षण–सिकाइ प्रक्रियामा रूपान्तरण ल्याउँदै नेपालभरका विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सकिने सम्भावना रहेकाे देखाएकाे छ ।

सन् १९५९ मा स्थापना भएको काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय नेपालको सबैभन्दा पुरानो तथा प्रतिष्ठित सामुदायिक शैक्षिक संस्थामध्ये एक हो। शैक्षिक उत्कृष्टता र नवीन शिक्षण अभ्यासको लामो इतिहास बोकेको यस विद्यालयसँगको सहकार्यमार्फत नेपालभर स्मार्ट शिक्षाको विस्तारका लागि प्रेरणादायी नमुना विकास गर्ने लक्ष्य राखिएको छ।

यो कार्यक्रम केवल डिजिटल कक्षाकोठा प्रविधिको प्रयोगमा सीमित नभइ यसले काठमाडौँ उपत्यकाभित्रको विद्यालयलाई उपत्यका बाहिरका विद्यालयहरूसँग जोड्दै नेपालको पहिलो सहकार्यात्मक स्मार्ट शिक्षा प्लेटफर्म निर्माण गरेको छ।

यस प्लेटफर्ममार्फत विद्यार्थी तथा शिक्षकहरूले प्रत्यक्ष वैज्ञानिक अनुसन्धान सत्र, अन्तरक्रियात्मक कक्षाहरू तथा वास्तविक समयमै ज्ञान आदान–प्रदान गर्दै संयुक्त रूपमा सिकाइ गर्ने अवसर प्राप्त गर्ने जनाइएकाे छ ।

ह्वावेको स्मार्ट कक्षा समाधानमार्फत दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीहरूले गुणस्तरीय विज्ञान शिक्षा, अन्तरक्रियात्मक डिजिटल शैक्षिक सामग्री तथा विश्व निकेतनका विद्यार्थीहरूसँग सहकार्यात्मक सिकाइ गतिविधिमा सहभागी हुने अवसर पाउनेछन्।

साथै, दुवै विद्यालयका शिक्षकहरूले शिक्षण अनुभव आदान–प्रदान गर्न, उत्कृष्ट अभ्यासहरू साझा गर्न तथा संयुक्त रूपमा प्रभावकारी कक्षाहरू सञ्चालन गर्न सक्नेछन्। यस पहलले प्रविधिमार्फत केवल कक्षाकोठालाई डिजिटल बनाउने मात्र नभई विद्यालयहरूलाई आपसमा जोडेर शैक्षिक असमानता न्यूनीकरण गर्न सकिने सम्भावना देखाएको छ।

ह्वावेको स्मार्ट शिक्षा अवधारणा शहरी तथा ग्रामीण क्षेत्रबीचको शैक्षिक अन्तर घटाउने, शिक्षकहरूलाई बुद्धिमत्तापूर्ण डिजिटल उपकरणमार्फत सशक्त बनाउने तथा तथ्यांकमा आधारित विश्लेषणद्वारा सिकाइ प्रक्रियामा निरन्तर सुधार ल्याउने यी तीन प्रमुख प्राथमिकतामा केन्द्रित छ ।

ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेनले भने, “शिक्षाको भविष्य विद्यार्थी कहाँ बस्छ भन्ने कुराले होइन, उसले प्राप्त गर्न सक्ने अवसरले निर्धारण गर्छ। ह्वावेमा हामी विश्वास गर्छौं कि कनेक्टिभिटीले ज्ञान, मानिस र सम्भावनालाई जोड्नुपर्छ। नेपालभरका कक्षाकोठाहरूलाई आपसमा जोडेर हामी विद्यार्थीहरूलाई एकअर्काबाट सिक्ने, शिक्षकहरूलाई भौगोलिक सीमाभन्दा बाहिर सहकार्य गर्ने तथा काठमाडौंदेखि दुर्गम गाउँसम्मका प्रत्येक बालबालिकालाई समावेशी, अन्तरक्रियात्मक र भविष्यका लागि तयार शिक्षा प्रणालीमा सहभागी हुने अवसर सिर्जना गरिरहेका छौं।”

एडीबीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री जियान शुले भने, “यो सहकार्यले नवप्रवर्तन, सहकार्य र डिजिटल प्रविधिलाई एकीकृत गर्दै सबै विद्यार्थीका लागि सिकाइका अवसरहरू सुधार गरी समावेशी, उत्थानशील तथा भविष्यका लागि तयार शिक्षा प्रणाली निर्माण गर्ने एडीबीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।”

यस पहलले एडीबी, ह्वावे नेपाल तथा विश्व निकेतन माध्यमिक विद्यालयको साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ, जसको उद्देश्य वैज्ञानिक साक्षरता अभिवृद्धि गर्नु, शिक्षणको गुणस्तर सुधार गर्नु तथा अझ स्मार्ट, आपसमा जोडिएको र समतामूलक शिक्षा प्रणालीमार्फत नेपालको डिजिटल रूपान्तरणलाई गति दिनु हो।