काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले राष्ट्र बैंकका उच्चअधिकारी सेवा निवृत्तपछि निजी बैंकमा जाने र निजी बैंकबाट पुनः राष्ट्र बैंकको नेतृत्व तहमा आउने प्रवृत्ति बढेको बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो प्रवृत्तिले स्वार्थको द्वन्द्व ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सिर्जना गरेको प्रश्न उठेको बताएका हुन् ।
राष्ट्र बैंक ऐन संशोधन गर्दा यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने उनको जोड छ । उनले राष्ट्र बैंकका कर्मचारीहरूकै संलग्नतामा कतिपय बैंक स्थापना भएको भन्ने चर्चा पनि बजारमा रहेको उल्लेख गर्दै यस्ता विषयको समाधान कानुनी रूपमै खोज्नुपर्ने बताए ।
उनले भने, “यहाँ धेरैजसो के देखिन्छ भन्दाखेरि राष्ट्र बैंकको विशेष श्रेणीका अधिकृतहरू रिटायर्ड भएपछि प्राइभेट बैंकमा जाने, अनि प्राइभेट फेरि राष्ट्र बैंकको गभर्निङ बडीमा आउन खोज्ने । यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट कतै आयो कि ? मैले कुनै खराब इन्टेन्सनले भनेको होइन, खाली अब बाहिर बजारमा यो कुरा चल्छ । त्यसो भएको हुनाले राष्ट्र बैंकको ऐन अहिले संशोधन भईरहेको छ, यो कुरालाई हामीले कसरी हल गर्नसक्छौं ? कतिसम्म भन्दा बैंक खोल्दासम्म पनि राष्ट्र बैंकका कर्मचारीहरू मिलेर खोले भन्ने पनि छ, बजारमा । यो आक्षेप होइन, यसलाई यो अर्थमा नबुझ्नुहोला तर अहिले राष्ट्र बैंकको ऐन संशोधन गर्दा हामीले ध्यान पु¥याउनुपर्छ, यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्टका कुराहरू छन् कि ? छन् भने के–के हुन् ? त्यसलाई हामीले कसरी हेर्ने भन्ने कुरामा बढी ध्यान दिन आवश्यक छ ।”
उनले राष्ट्र बैंकले हालै सार्वजनिक मौद्रिक नीति पनि अपेक्षाअनुसार नआएको बताए । मौद्रिक नीति निर्माण प्रक्रियालाई थप स्वायत्त बनाउनुपर्ने उनले आवश्यकता औँल्याए । राष्ट्र बैंकको संस्थागत स्वायत्ततासँगै मौद्रिक नीति पनि छुट्टै समितिमार्फत तयार गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्