काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन र सञ्चालनका विषयमा तीनबुँदे सहमति भएको छ।
शनिवार सार्वजनिक गरिएको सहमति पत्रमा प्रदेशसभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने उल्लेख छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व नेकपाले गर्ने भएको छ।
त्यसैगरी मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको हो ।
सहमति पत्रमा प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएका असहजता, बजेट विहीनताको अवस्था तथा बदलिँदो राजनीतिक प्रतिस्पर्धालगायतका समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले सहकार्य गर्ने उल्लेख गरिएको छ।
सहमति पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।



प्रतिक्रिया दिनुहोस्