व्यवसायी दीपक भट्टलाई मुद्दामा थुनामा राख्नुको आधार पेश गर्न सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा राख्नुको आधार पेश गर्न आदेश दिएको छ ।

दुई अलग मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी भट्टले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि आज सुनुवाई गर्दै सर्वोच्च अदालतले सम्बन्धित अदालतहरूबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च अदालत पाटन र विशेष अदालतबाट जारी भएका थुना आदेशको कानुनी आधार,कारण र निर्णय प्रक्रियासम्बन्धी विस्तृत प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

भट्टले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालत पाटन र विशेष अदालतका आदेश विरुद्ध गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले विशेष अदालत काठमाडौँलाई भनेको छ,“यसमा के कसो भएको हो ? बेहोरा खुलाई यी प्रतिवादी दिपक भट्टलाई थुनामा राखी पुर्पक्ष गर्ने गरी ताहाँबाट मिति २०८३ । ०३।०३ मा आदेश गर्दा लिएका आधारसमेतको बेहोरा खुलाई सम्बन्धित मुद्दाको सक्कलै मिसिल पेसीका दिन देखाई फिर्ता लैजाने गरी कैफियत प्रतिवेदन गर्नुहोला ।”

भट्टविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणका छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त मुद्दामा उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले गत असार ५ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ ।

यस मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले असार ३ गते भट्टलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

उच्च अदालत पाटनलाई सर्वोच्च अदालतले भनेको छ,“यसमा के कसो भएको हो ? बेहोरा खुलाई यी प्रतिवादी दिपक भट्टलाई थुनामा राखी पुर्पक्ष गर्ने गरी ताहाँबाट मिति २०८३ । ०३।०५ मा आदेश गर्दा लिएका आधारसमेत बेहोरा खुलाई सम्बन्धित मुद्दाको सक्कलै मिसिल पेसीका दिन देखाई फिर्ता लैजाने गरी कैफियत प्रतिवेदन गर्नुहोला ।”

अब सम्बन्धित अदालतबाट विवरण प्राप्त भएपछि व्यवसायी भट्ट थुनामै वा धरौटीमा रिहा गर्ने विषयमा सुनुवाइ अघि बढ्नेछ ।