देशका प्रमुख १४ भन्सार कार्यालयमा स्क्यानर मेसिन जडान गर्न अर्थमन्त्री वाग्लेको निर्देशन


काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व सङ्कलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

आज अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस वर्षको राजस्व सङ्कलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिए ।

नयाँ आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्यलाई ‘मिसन मोड’मा अघि बढाउन पनि उनले निर्देशन दिए ।

“नेपालमा कर सङ्कलनको विगतको तथ्याङ्क हेर्दा राजस्व सङ्कलनको बिग्रिएको लय र चुहावटको गुनासो अत्यधिक पाइएको छ । अब यो सैह्य हुँदैन । राजस्व सङ्कलनको लक्ष्य, डेटलाइन र उद्देश्यमा यहाँहरू स्पष्ट हुनुहुन्छ,”अर्थमन्त्री डा.वाग्ले भने,“अर्जुनदृष्टि लगाएर अघि बढ्नुहोस् । करदातालाई कर लगाएर होइन, उत्साहित गरेर कर सङ्कलन गर्नुहोस् । ”

कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उनले कर सङ्कलनको जिम्मेवारीमा रहेका कर प्रशासकहरूले अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थमा जोड दिनुपर्ने उनको भनाई छ ।

“कर प्रशासकहरू कम्फरटेबल जोनबाट बाहिर निस्कनुहोस्, वैज्ञानिक र यथार्थतामा जोड दिनुहोस्,” अर्थमन्त्री वाग्लेले भने,“राज्य बनाउन कर चाहिन्छ, कर उठाउन तपाईंहरूको साथ,इमान र मेहनत गरे प्रोत्साहन मिल्छ, गलत गरे दण्ड ।”

भन्सार, राजस्व र आन्तरिक करतर्फका कर प्रशासकहरूलाई सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक सबै खाले स्रोत साधन उपलब्ध गराउन राज्य तयार रहेको मन्त्री वाग्लेको भनाई थियो ।

नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उहाँले निर्देशन दिए ।

देशका प्रमुख १४ भन्सार कार्यालयमा स्क्यानर मेसिन जडान गर्न निर्देशन

सो क्रममा अर्थमन्त्री वाग्लेले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए । उनले भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिएका छन् ।

“भन्सार विभागका महानिर्देशकज्यू, १४ प्रमुख नाकामा सवारीसाधन स्क्यानर जडान गर्न अगाडि बढिहाल्नुहोस् । के–कस्तो सहयोग चाहिने हो, मन्त्रालयबाट भन्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने । उनले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन कार्यालयहरूलाई निर्देशन दिए ।

भन्सार र करको चुहावट भइरहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन पनि अर्थमन्त्रीको आग्रह थियो ।