चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा ठप्प


काठमाडाैँ । नेपाल चिकित्सक संघले मंगलबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण गरेको विरोधमा संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पारेको हो ।

जसबाट बिरामीहरु मर्कामा परेका छन् । गत शनिबार नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो  ।

आक्रमणबाट डा. रामको टाउकोमा गम्भीर चोट लागेको संघले बताएको छ । साथै संघले जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रिय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्ष लगायतका चिकित्सकहरुमाथि गालीगलौज गरी दुव्र्यवहार गरेको आरोप पनि लगाएको छ ।

घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै चिकित्सक संघले मंगलवार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ ।

यससँगै काठमाडौँको स्तूपा सामुदायिक अस्पताल, एभरेष्ट हस्पिटल, भेनस हस्पिटल लगायतका अस्पतालमा बिरामी हजारौँ बिरामी प्रभावित भएका छन् । संघले दोषिमाथि कारबाही नगरे आन्दोलनका कार्यक्रम सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ ।